२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

चौपायालाई चिसोबाट जोगाउन कम्बल !

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनीहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ ।

चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाईगोरु, बाच्छा–बाच्छीलाई चिसोबाट जोगाउन न्यानो कम्बल र कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको जनाए ।

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाच्छा, बाच्छी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ । चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उनले बताए । गाउँपालिकाका अनुसार गौशालामा पराल र भुससहित चाराको व्यवस्था गरिएको छ ।

पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति पनि खटाइएको छ । अध्यक्ष चौधरीले पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको बताए । गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले चौपायाका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई ५० वटा न्यानो कम्बल हस्तान्तरण गरेका छन् ।

डुडुवा गाउँपालिकाले निर्माण गरेको सो गौशालाको दुई वटा गोठमा करिब १०० वटा पशु राख्न सक्ने क्षमता रहेको गौशालाका कर्मचारी दामोदर यादवले बताए । स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई प्रत्यक्ष रुपमा देखाएको स्थानीय नागरिकको भनाइ छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार