विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई चुनावी अभियानमा अगाडि बढ्न सजिलो पार्यो भने नियमित महाधिवेशनपछि एमालेका नेता तथा कार्यकर्ताहरूको मान भाँचियो । नेतृत्वसँग भाँचिएको भन लिएर भए पनि चुनावी अभियानमा उत्रन थालेका छन् उनीहरू । नेतृत्वप्रति असहमति राख्दै अध्यक्ष केपी शर्मा ओलीको शैलीप्रति दिक्क मान्दै एमालेको चुनावी अभियानमा उत्रिएको घोषणा गरेका छन् ।
ओलीले चुनाव जित्ने अवस्था नभएकोले टिकट नदिएको भन्ने आरोप लगाएपछि एमाले उपमहासचिव योगेश भट्टराई त्यसमा विमति राख्दै चुनावी अभियानमा उत्रेका छन् । चुनावी अभियानमा जानुअघि उनले लेखेका छन्, ‘सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यसपटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुलजीले कार्यकर्ता पङ्क्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पङ्क्ति हिजो एक ढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?’
‘ओलीको यो भनाइको फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो म विचलित र निराश छैन । यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ भट्टराईले अगाडि भनेका छन् । काभ्रेमा आफ्नो चुनाव क्षेत्रमा जित्ने जनाधार भए पनि टिकट नपाएका गोकुल बास्कोटाले पनि साङ्केतिक रूपमा ओली प्रति तितो पोख्दै चुनावी अभियानमा लागेका छन् ।
उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन, त्यो मेरो विषय परेन ।मेरो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिन । पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण हैन, जननेता मदन भण्डारीको यो भनाई मेरो राजनीतिक आदर्श हो ।’ दैलेखमा लामो समयदेखि निरन्तर पार्टीको काममा खटिरहेका केन्द्रीय सदस्य विष्णु रिजालले पनि आफूले चुनावमा टिकट नपाएकोमा गुनासो गर्दै चुनावी अभियानमा लागेको बताएका छन् ।
‘लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पिएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरूप्रति जति घृणा गरे पनि कमै हुन्छ । पार्टीका तर्फबाट उम्मेदवार बन्नुहुने सबैलाई शुभकामना’ उनले भनेका छन् ।
पछिल्लो समयमा ठुलो विवादमा परेको ओखलढुङ्गा जिल्ला कमिटीका पूर्व अध्यक्ष शङ्कर कटवालले पनि नेतृत्वप्रति गुनासो गर्दै चुनावी अभियानमा सामेल भएको बताएका छन् । ‘गलत काम हुन थालेपछि मैले जिल्ला कमिटीबाट राजीनामा दिई निष्क्रिय रहेको थिएँ । देश यसबेला निर्वाचनमा होमिएको, पार्टी र नेतृत्व माथि चौतर्फी हमला भइरहेको अवस्थामा रक्षाकबच बन्नुपर्ने बेलामा ओखलढुङ्गा एमाले नेतृत्वमा पुगेकाहरूबाट जुन घात भयो पार्टीलाई, एउटा जिम्मेवार सदस्य भएको नाताले टुलुटुलु हेरेर बस्न सकिएन,’ उनले भनेका छन् ।
उनले थपेका छन्, ‘म पार्टी कामको जिम्मेवारीमा दत्त–चित्त भएर लाग्ने र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने निस्कर्षमा पुगेको ब्यहोरा सबैमा निवेदन गर्दछु । आरोप प्रत्यारोप, गाली–गलोच र अराजनीतिक–असहिष्णु शैलीको प्रयोग न गरौँ । राजनैतिक शैलीको प्रयोग गरौँ, सबैमा निवेदन गर्दछु,’ उनले भनेका छन् । अध्यक्ष ओलसँग असहमति जनाएकै कारण टिकट नपाएका पूर्व पोलिटब्युरो सदस्य कर्ण थापाले पनि असन्तुष्टि प्रकट गर्दै चुनाव प्रचार अभियानमा निस्केको घोषणा गरेका छन् ।
‘फागुन २१ मा हुने निर्वाचनको लागि प्रचार सुरु भएको छ । दलका नेता तथा कार्यकर्ताहरूले आफ्नो उम्मेदवारको प्रचार गर्नुभन्दा अरूको उम्मेदवारको विरोधमा जोड दिएको देखिन्छ । प्रचारको यस शैलीलाई बदल्नु उचित होला । हरेक पार्टीका आफ्नै दर्शन, सिद्धान्त, विचार, लक्ष्य, मूल्य र मान्यता र योजनाहरू हुन्छन् । निर्वाचनको समयमा यी नै आधारमा जनतासँग अपिल गर्नुपर्दछ । निर्वाचनलाई महाबहसको अवसरको रूपमा उपयोग गर्नुपर्दछ,’ उनले लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘अघिपछि चासो नभएको जनताको ठूलो पङ्क्ति देशको बारेमा जान्न बुझ्न उत्सुक बनेको हुन्छ, यस अवधिमा । देशको राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक प्रणालीबारे पार्टी उम्मेदवारहरूका बुझाई, विश्लेषण र देश विकासको खाकामा विषय केन्द्रित छलफल गरिनुपर्दछ । र, त्यसका आधारमा मत लिने र दिने लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा यस निर्वाचनलाई लिनुपर्दछ । यसो गर्न सकियो भने सङ्कटग्रस्त देशलाई सही मार्गमा हिँडाउन सकिन्छ । सुधार आफैबाट सुरु गर्दा कसो होला ?’
सत्यपाटी