पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक डिबेटको प्रस्ताव गरेपछि चुनावी बहस तात्ने अपेक्षा गरिएको थियो । तर अर्का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले डिबेट अस्वीकार गर्दै बहसलाई वैचारिक टकरावभन्दा नैतिक र राजनीतिक उत्तरदायित्वतर्फ मोडिदिएका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा डिबेटको औपचारिकताभन्दा पनि विगतका राजनीतिक घटनामा जिम्मेवारी स्वीकार नगरेसम्म संवाद सम्भव नहुने संकेत गरेका छन् । उनले जेनजी आन्दोलनसँग जोडिएका हिंसात्मक घटनाको सन्दर्भ उठाउँदै राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियार सँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको हुन सक्ने भन्दै ठाडो इन्कार गरेका छन् । ओलीले सार्वजनिक मञ्चमा बहसको आह्वान गरे पनि त्यसको जवाफमा बालेनले नैतिक उत्तरदायित्व र विगतका घटनाको स्वीकारोक्तिलाई पहिलो सर्त बनाएका छन् ।
बालेनले ओलीसँग एउटै मञ्चमा बसेर पब्लिक डिबेट नगर्ने पनि स्पष्ट पारेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
रास्वपाका तर्फबाट फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीसँग पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् । ओलीको भनाइका आधारमा आफूलाई देश जलाउने र आतङ्कवादीका रूपमा चित्रित गरिएको आरोप लगाउँदै शाहले त्यसप्रति कडा आपत्ति जनाएका छन् ।
उनले भदौ २३ गते बालबालिकाको हत्या तथा भदौ २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ओली पब्लिक डिबेटका लागि तयार भएको भनिए पनि त्यसमा सहभागी नहुने बताउँदै शाहले भनेका छन्, ‘७६ जना बालबालिकाको हत्यारा र उसका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस अपराधमा सामेल भएको अर्थ लाग्छ ।’
उनले बालबालिकाको हत्या र त्यससँग सम्बन्धित व्यक्तिहरूसँग कुनै पनि हालतमा एउटै मञ्च साझा नगर्ने अडान दोहोर्याएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो ! तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’


सत्यपाटी