२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

आज राष्ट्रियसभा निर्वाचन, १७ पदका लागि सातै प्रदेशमा मतदान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ११ गते आइतबार

राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले यस निर्वाचनका लागि सातै प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कुल १८ रिक्त पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज बाँकी १७ पदका लागि मात्र मतदान हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १७ पदका लागि सातै प्रदेशमा मतदान स्थल र केन्द्रहरू निर्धारण गरिएको छ ।

आयोगले कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका लागि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशका लागि हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयहरूमा मतदानको व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार