२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पश्चिम नेपालमा वर्षा र हिमपात, अझै पानी पर्ने सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १० गते शनिबार
बैतडीको सिगास गाउँपालिका–९, श्रीभावर बजारनजिक सडकमा जमेको हिउँ जेसीबीले सफा गर्दै । तस्वीर : डम्बर बोहरा । रासस

देशका केही भूभागमा शुक्रबार (माघ ९) अपराह्नदेखि वर्षा र हिमपात भएको छ । पश्चिम वायुको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अरू भूभागमा भने बादल मात्र लागेको छ ।

पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षा भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जनाएका छन् । ‘पश्चिमी वायुले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षा गरायो भने हिमाली भेगमा अझै वर्षा भइरहेको देखिन्छ,’ उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

यस वर्ष हिउँदयामको यो पहिलो वर्षा हो । आउँदो सोमबारदेखि बुधबार (माघ १२–१४)सम्म देशमा फेरि वर्षा हुने ‘राम्रो’ सम्भावना रहेको उनले बताएका छन् । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि शुक्रबारसाँझदेखि सूदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यमसम्म वर्षा र हिमपात भएको जनाएका छन् ।

‘गण्डकी क्षेत्रको पश्चिमी भूभागमा पनि वर्षा भएको र वाग्मतीसम्म आउँदा धेरै कमजोर भइसकेकोले बादल मात्रै देखिन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो बादल उत्तरपश्चिमी उच्च हिमाली क्षेत्रबाट आउने हुँदा नेपालको पश्चिमदेखि पूर्वसम्मको हिमाली क्षेत्रमा सजिलै सोहोरिएर फैलन्छ ।’

वाग्मती र कोसी प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना उनले औँल्याएका छन् । ‘आज दिनभरि घाम लाग्न गाह्रो छ । तर, भोलि बिहानैदेखि मौसम घमाइलो र न्यानो हुनेछ,’ उनले लेखेका छन् । जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि यही माघ १३ गतेदेखि देशमा पुनः वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेका छन् ।

‘माघ १३ गतेदेखि पुनः पश्चिम वायुको प्रभावले वर्षा र हिमपात गराउने सम्भावना छ,’ उनले फेसबुकमा लेखेका छन् । यति बेला (दिउँसो साढे ३ बजे) कोसी, मधेस र वाग्मती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा बादल लागिरहेको छ । हिउँ तथा पानी पर्न रोकिएको महाशाखाले जनाएको छ ।

‘लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईमा भने आकाश खुलेर केही घमाइलो भएको छ । बादल उत्तरपूर्व सरिरहेको भएता पनि बादल लागेको भूभागमा पानी भने पर्ने सम्भावना देखिँदैन,’ महाशाखाले भनेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना भने अझै रहेको महाशाखाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार