तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ । हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् ।
गएको कात्तिक महिनाको दोस्रो साता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिर तथा माथिल्लो मुस्ताङमा हिमपात भए पनि कागबेनीदेखि तल हिमपात भएको थिएन । अत्याधिक चिसोसँगै हिमपातका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बारागुङ मुक्तिक्षेत्र–४, का वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताए ।
वडाध्यक्ष गुरूङले भने, ‘चार वर्षपछि हिमपात भएको छ, अत्याधिक चिसोका कारण सुनसान ।’ सदरमुकाम जोमसोमस्थित पुथाङ एयरर्पोटबाट समेत आसपासका क्षेत्रमा सेताम्मे हिमपात देखिन्छ । पछिल्लो समयत अत्याधिक चिसोले पर्यटकीयस्थल पनि सुनसान छन् । यता हिमपातले किसानहरुमा भने खुशीयाली छाएको छ ।

