नेपाली कांग्रेसको देउवा–खड्का पक्षले राष्ट्रियसभाको निर्वाचनलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि र उनकै निर्णय अनुसार पार्टी निर्वाचन प्रक्रियामा अगाडि बढेपछि पार्टी नेतृत्वबाट विस्थापित तत्कालीन संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
भेलामा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ । भेलाबाट केही निर्णय पनि लिने तयारी छ । नेपाली कांग्रेसको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्न र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको यो समूहको दाबी छ । यो समूहले सभापति निरंकुश बन्न खोजेको आरोप लगाएको छ ।
विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो । राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । खड्कासँग शनिबारमात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यले आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिए ।
पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिका बारेमा समूहका नेता–कार्यकर्ताहरूलाई जानकारी दिन र आगामी रणनीति तय गर्न भेलाको तयारी भइरहेको उनको भनाइ छ । ‘राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने भन्ने छ । आज बिहान कार्यवाहक सभापतिसँग कुरा भएको थियो,’ ती नेताले भने, ‘सबैलाई एउटा म्यासेज त दिनुपर्यो ।’
ती नेताले राष्ट्रिय भेलाको मिति भने अझै तय भइनसकेको पनि जानकारी दिए । ‘समय फिक्स भइसकेको अवस्था होइन,’ ती नेताले भने, ‘कार्यवाहक सभापति परामर्शमै हुनुहुन्छ ।’ विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएको थियो । तर, सर्वोच्चले देउवा समूहको पक्षमा अन्तरिम आदेश दिएन ।
न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
सत्यपाटी