२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

संस्कृति, इतिहास र नारी शक्तिको संगम ‘अग्निचक्षु’ रंगमञ्चमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १० गते शनिबार

विश्वकै एकमात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौंको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ ।

साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा नाटक प्रस्तुत हुन लागेको हो । नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त सन्देश प्रवाह गर्दछ ।

यसमा धार्मिक, ऐतिहासिक र जीवनदर्शनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नाटकका लेखक तथा निर्देशकले जीवित देवी कुमारीसँग जोडिएका परम्परा, इतिहास र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले यो कृति तयार गरिएको बताएका छन् ।

नाटकको पाण्डुलिपि निर्माणका क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीबाट समेत आशीर्वाद प्राप्त हुनु आफूका लागि गौरवको विषय भएको उनले उल्लेख गरे । यसअघि ‘जिउँदो आकाश’ नाटक अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभल हुँदै नेपालका विभिन्न १२ स्थानमा १०० भन्दा बढी पटक मञ्चन भइसकेको थियो ।

त्यसैबाट प्रेरित भएर ‘अग्निचक्षु’ लेखन सुरु गरिएको हो । यो नाटक पहिलो पटक २०८१ सालमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । त्यसपछि २०८२ मङ्सिरमा बुढानीलकण्ठ स्कुलमा विद्यार्थीहरूद्वारा पनि मञ्चन गरिएको थियो ।

नेपाली र नेपाल भाषामा मञ्चन गर्ने लक्ष्यअनुसार हरिगोपाल श्रेष्ठले नेपाल भाषामा अनुवाद गरेका छन् । हाल नेपाली भाषामै मञ्चन भइरहेको छ । नाटकको नाट्य प्रस्तुति संयोजन वरिष्ठ रंगकर्मी कृष्णभक्त महर्जनले सम्हालेका छन् । उनको अनुभव र कलाकारहरूको ऊर्जाले नाटकलाई थप प्रभावशाली बनाएको आयोजक पक्षले जनाएको छ ।

कलाकार र टिम

नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, राजेन्द्र डंगोल तथा बाल कलाकार दिव्यता चौधरीको प्रभावशाली अभिनय रहेको छ । सङ्गीत संयोजन विमल लामिछानेले गरेका हुन् । गायनमा विमल लामिछाने र अनु अधिकारीको सहभागिता रहेको छ ।

वाद्यवादनतर्फ इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाको योगदान रहेको छ । मञ्च सज्जा कृष्णभक्त महर्जनले गरेका छन् भने प्रकाश परिकल्पना तथा परिचालन निर्मल साउदले सम्हालेका छन् । कोरियोग्राफी जेडी तमु र कृष्णभक्त महर्जनले गरेका हुन् । वेशभूषा अग्निचक्षु समूहले तयार पारेको छ । प्रस्तुति परिकल्पनाको जिम्मेवारी झकेन बी.सी.ले सम्हालेका छन् भने सहजीकरण हरिगोपाल श्रेष्ठले गरेका छन् ।

व्यवस्थापन पक्ष

सञ्चार संयोजक चक्रप्रसाद पोखरेल, बजार व्यवस्थापन मनिष मानव, निर्माण समन्वय सरस्वती न्यौपाने, पोस्टर डिजाइन राजन काफ्ले तथा बक्स अफिस शान्ति चौधरी र सन्देश पाण्डेयले सम्हालेका छन् ।

कथावस्तु

‘अग्निचक्षु’ समाजशास्त्र अध्ययनरत एक युवतीले कुमारी परम्परामाथि गरेको अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्छ । पूर्वकुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका पात्रहरूको जीवन भोगाइमार्फत नाटकले इतिहास, वर्तमान र भविष्यलाई जोड्ने प्रयास गरेको छ ।

मुख्य पात्र अष्टलक्ष्मी सामाजिक विकृति, पारिवारिक अभाव र प्रेम सम्बन्धको तनावबीच पनि नारी शक्तिको महत्त्व बुझ्दै समाज परिवर्तनतर्फ अग्रसर हुन्छिन् । यही यात्राले नाटकलाई सन्देशमूलक र प्रेरणादायी बनाएको छ । आयोजकका अनुसार ‘अग्निचक्षु’ केवल मनोरञ्जनका लागि नभई नेपाली संस्कृति संरक्षण, नारी चेतना र सामाजिक जागरणका लागि सञ्चालन गरिएको सांस्कृतिक अभियान हो ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार