२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ १० गते शनिबार

विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझै पनि सो रोगको उच्च जोखिममा रहेका छन् । हात्तीपाइले रोग निवारणका लागि चलाइएको औषधी सेवन अभियानमा बाँकेका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा लक्ष्य अनुसार औषधी सेवन नगरिँदा उच्च जोखिममा परेका हुन् ।

जिल्लाका ती तीनवटा पालिकामा १५ पटक अभियान चलाउँदा पनि सफल नभएपछि अहिले १६ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्नेमा जिल्लाका तीन वटा पालिका र एउटा पालिकाको एउटा वडामा सो भन्दा निकै कम मानिसले औषधी सेवन गरेकोले फेरी पनि अभियान चलाइएको बताइन् ।

उनले यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४४ हजार ९५८, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७१ हजार ७७४, डुडुवा गाउँपालिकाका ४५ हजार ५२२ र बैजनाथ ४ का नौ हजार ७४२ जना गरी कुल दुई लाख ७० हजार ९९६ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको बताइन् । एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधी नखाइदिएका कारण १५ वर्षदेखि निरन्तर सो अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन रत्नलाल शर्माले बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नं.४ मा यस वर्ष औषधी सेवन कार्यक्रम सुरु गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोका अनुसार बाँके जिल्लामा मात्रै हात्तीपाइले निवारण हुन बाँकी रहेको कारणले सन् २०३० मा नेपाललाई नै हात्तिपाइले रोग मुक्त देश घोषणा गर्ने अभियान प्रभावित हुनसक्ने देखिएको छ । देशलाई मुक्त घोषणा गर्नका लागि पनि बाँकेका सबै पालिकालाई मुक्त घोषणा गर्नु आवश्यक रहेको उनले बताए । बाँकेमा गरिएको सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति १०० जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । एक प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार