२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

हुम्लाको लिमी उपत्यकाका तीन गाउँ सामूहिक स्थानान्तरणको तयारीमा

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ माघ १० गते शनिबार

हुम्लाको नाम्खा गाउँपालिका–२ लिमी उपत्यकाका स्थानीयबासी सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् । जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुर्ख्यौली थलो छोडेर लिमीवासीहरू स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरूले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् ।

केहीदिन अघिमात्रै तीन गाउँहरूबीच स्थानान्तरण हुने सहमति भएको हो । स्थानीय समाजसेवी मंगल लामाका अनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् । सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताए ।

लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गरे । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यका हिमालपारिको एउटा लुकेको स्वर्ग हो ।

त्यहाँका तीन गाउँ ‘हल्जी, तिल र जाङ’ सदियौंदेखि तिब्बती संस्कृतिको जीवन्त केन्द्र हुन् । कैलाश मानसरोवर दर्शनको प्रमुख मार्गमा पर्ने यो क्षेत्र, जहाँ हिउँले ढाकिएका चुचुरा, प्राचीन गुम्बा र शान्त उपत्यकाले मानिसलाई मोहित पार्छन् । तर आज यो उपत्यका निर्जन बन्दैछ ।जलवायु परिवर्तनको प्रभावले यहाँका बासिन्दाहरू पुख्र्यौली थलो छोड्न बाध्य भएका छन् ।

गत वर्षहरूमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरूलाई बस्नै नसक्ने बनायो । जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकीहरू काठमाडौं वा अन्यत्र बसाइँ सरे । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरूले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् ।

स्थानीय समाजसेवी लामाले भने, ‘कृषि सुरू भएपछि मानिसहरू विस्तारै तल सरे । अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ । कैलाश दर्शन गर्नेहरूका लागि माथि सांस्कृतिक घरहरू बनाएर कल्चर जोगाउन सकिन्छ ।’ उनीहरू आफूमात्र सरेका छैनन् त्यहाँस्थित सांस्कृतिक सम्पदा गुम्बाहरू पनि सँगै लगेका छन् ।

जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताए । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको स्थानीयहरूको भनाइ छ । देखाएर पैसा कमाउने हिमाली भेगहरू सरकारले बन्द गरेर राख्नु दुःखद् भएको स्थानीयहरूको गुनासो छ ।

हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरू जलवायु परिवर्तनको बढ्दो प्रभावले पुख्र्यौली थलो छोड्न बाध्य भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन् । बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरूले सामूहिक रूपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ ।

चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो । यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताए । उनले सीमा सुरक्षाको चिन्ता पनि व्यक्त गरे ।

नाम्खा गाउँपालिका–६ का अध्यक्ष तामाङको यो अभिव्यक्तिले हुम्लाको दुर्गम हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, राहत वितरणको कमजोरी र सीमा सुरक्षाको आवश्यकतामाथि गम्भीर प्रश्न उठाएको छ । यी कुराहरूले जलवायु परिवर्तनको प्रभाव कति गहिरो छ भन्ने प्रष्ट पार्छन् । बढ्दो तापक्रमले हिमताल पग्लिने र विनाशकारी बाढीको जोखिम बढाएको छ ।

आधारभूत सुविधाको अभाव र विपद्को त्रासले युवाहरू काठमाडौँ वा अन्यत्र पलायन भइरहेका छन् । बस्ती रित्तिँदा सीमा क्षेत्र निर्जन बन्दै जान्छ । जसले अवैध गतिविधिको ढोका खोल्न सक्छ । हल्जीको ऐतिहासिक रिन्चेनलिङ गुम्बा जस्ता सम्पदा संरक्षणविहीन हुनेछन् । परम्परागत रूपमा जोगाइएको वन र जडीबुटीमा पनि क्षति पुग्नेछ ।

कैलाश मार्गको पर्यटन सम्भावना खेर जाने जोखिम छ । लिमीवासीहरूको यो बाध्यतालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सडक सुधार, विपद् व्यवस्थापन, आधारभुत सुविधा विस्तार र सांस्कृतिक पर्यटनमा लगानी नगरे हिमाली सीमा नै असुरक्षित बन्न सक्छ । यो संकटलाई समयमै सम्बोधन नगरे राष्ट्रिय सुरक्षा र हिमाली पहिचान दुवै सङ्कटमा पर्नेछन् ।

लिमीवासीहरूको यो बाध्यता जलवायु परिवर्तनको प्रत्यक्ष मार हो । कैलाश दर्शनको मार्गमा पर्यटनको सम्भावना थियो तर सडक अभाव र विपद्को त्रासले सबै खेर जाँदैछ । युवाहरू शहर पलायन भइसके, बूढापाका र बच्चाहरू मात्र बाँकी छन् । एउटा हजारौं वर्षको संस्कृति रित्तिँदैछ । यो कथा केवल लिमीको होइन, हिमाली नेपालको हो ।

यदि समयमै सडक सुधार, विपद् व्यवस्थापन र आधारभूत सुविधा पुगेन भने यो उपत्यका पूरै निर्जन बन्नेछ । कैलाशको छायाँमा बनेको यो स्वर्गलाई बचाउन अब ढिला गर्नुहुँदैन । लिमीका बासिन्दाहरूको विदाई मन छुनेछ, उनीहरूले थातथलो छोडेर जाँदै गर्दा पछाडि फर्केर हेर्नेछन् र हिउँ पग्लिएको उपत्यकाले उनीहरूलाई पनि पग्लिएर बगेजस्तै महशुस हुनेछ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार