२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

सुदूरपश्चिम पहाडमा हिमपात, हिल्सा जाने बाटो पूर्णरुपमा बन्द

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँ लगायत क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेलधुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ । यो वर्ष पहिलो पटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।

गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । यसैबीच, हुम्लामा पनि हिमपात भएको भएको छ । गत भदौदेखि वर्षा नभएको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलोपटक हिउँ पर्न थालेको हो ।

निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । माथिल्लो हुम्ला सिमकोट नाम्खा लगायत क्षेत्रमा अहिले हिमपात भइरहेको छ । हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार