२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

देशभर दुई दर्जन बढी पत्रकार चुनावी मैदानमा, रास्वपाबाट धेरै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ९ गते शुक्रबार

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २५ जनाभन्दा बढी बढी पत्रकार प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक पत्रकारिता क्षेत्रबाट चुनावमार्फत राजनीतिमा सहभागिता जनाउने क्रम उच्च देखिएको छ । निर्वाचन आयोगको सूची अनुसार २५ जनाभन्दा बढी पत्रकारिता पृष्ठभूमिका उमेदवार चुनावमा होमिएका छन् ।

चुनावी भिडन्तमा पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुर–२ बाट प्रतिस्पर्धामा छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनोनयन दर्ता गराएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रहेका पूर्वपत्रकार रविन्द्र मिश्र यसपटक पनि काठमाडौं–१ बाटै चुनावी भिडन्तमा उत्रेका छन् । पत्रकारिता पृष्ठभूमिका रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट चुनावी मैदानमा छन् ।

रास्वपाबाटै अर्का पूर्वपत्रकार दीपक बोहोरा कञ्चनपुर–२ बाट प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेसबाट भक्तपुर–२ मा अग्रज पत्रकार कविर राणाले प्रतिस्पर्धा गर्दै छन् । यता, भक्तपुर–२ बाटै रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट पत्रकार जन्मदेव जैसी प्रतिस्पर्धामा छन् । जैसी श्रमजिवी पत्रकार संघका अध्यक्ष समेत हुन् ।

प्रलोपाबाट जुम्ला–१ मा मनऋषि धिताल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हुम्लामा डा.दीपेन्द्र रोकाय र सोही पार्टीबाट काठमाडौं क्षेत्र १० मा रुपा महर्जन चुनावी मैदानमा उत्रिएका छन् । यता, टेलिभिजन प्रस्तोता ऋषि धमला आम जनता पार्टीबाट रौतहट–४ बाट चुनावमा भिड्दै छन् । धनुषा–३ बाट पत्रकार दिवाकर साहले स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि दोलखा निर्वाचन क्षेत्र नं–१ बाट पूर्वपत्रकार अजयबाबु सिवाकोटी प्रतिस्पर्धामा छन् । उनी नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य हुन् । डडेल्धुराबाट अर्का पूर्वपत्रकार नैनसिंह महर कांग्रेसका उमेदवार छन् । राप्रपाको तर्फबाट झापा–२ मा पूर्वपत्रकार स्वागत नेपाल र बागलुङ–२ मा कल्याण आचार्य उमेदवार छन् ।

राजमोबाट काठमाडौं–९ मा पत्रकार रोशन दानी प्रतिस्पर्धामा छन् । चुनावी भिडन्तमा पूर्वपत्रकार सूर्यबहादुर थापा क्षेत्री प्युठानबाट एमाले उमेदवार बनेका छन् । पूर्वपत्रकार सोविता गौतम रास्वपाबाटै चितवन–३ मा उमेदवार छन् । झापा–१ मा पनि पूर्वपत्रकार निशा डाँगी उमेदवार बनेकी छन् । उनी पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्दैछिन् ।

सोही पार्टीबाट पत्रकार प्रकाश पाठक झापा–३ बाट प्रतिस्पर्धामा भिडेका छन् । रास्वपाबाट लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । यता, रास्वपाबाटै पत्रकार ठाकुर सिंह थारु पनि बर्दिया क्षेत्र नम्बर १ मा उमेदवार छन् । कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ मा पत्रकार चिन्ता परियारले स्वतन्त्र उमेदवारी दिएका छन् । यता पत्रकार महेश्वर दाहालले सिन्धुली–२ बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।

के भन्छन् आमसञ्चार विज्ञ ?

आमसञ्चार विज्ञ प्राध्यापक रामकृष्ण रेग्मी पत्रकार राजनीतिमा जान बाधा नरहे पनि पत्रकारिता, जनताको प्रतिनिधित्व र राजनीतिक संस्कार बेग्लै विषय रहेको बताउँछन् । ‘प्रतिनिधित्व दिने शक्ति, नेतृत्व दिने क्षमता र लागिरहन सक्ने दृढता चाहिन्छ । चुनावमा धेरै पत्रकार जानुभएको छ, राम्रै कुरा हो । तर, रेकर्ड हेर्दा एउटा पेशाबाट अर्को पेशामा गएका मान्छेहरू त्यति सफल देखिँदैनन्,’ प्राध्यापक रेग्मीले भने ।

उनले थपे, ‘संसद््मा जाने भनेको त वैधानिकता र लिगल फ्रेमवर्कको कुरा पनि हुन्छ । त्यहाँ क्लियर भएर जानुपर्छ । त्यसको संस्कार त पत्रकारमा हुँदैन । संघर्ष पनि गर्नुपर्ने हुन्छ । धैर्य पनि चाहिन्छ । ती चिज छन् त ? प्रश्न उठ्छ ।’ तर, पत्रकार पनि परीक्षणका लागि तयार हुनु राम्रो कुरा भएको रेग्मी बताउँछन् । राजनीतिक व्यक्तिमा ट्रष्टको ठूलो खडेरी परेका कारण एउटा पेशा छाडेर राजनीतिक पेशामा जान लालयित देखिएको टिप्पणी उनको छ ।

‘नत्र राजनीतिमा जान धेरै मुस्किल पथ्र्यो । चुनाव त त्यसै लडिँदैन नि । यसका पनि हामीले समाचार लेखे जस्तै प्यारामिटर छन् । पत्रकार राजनीतिमा जाने कुरमा मैले धेरै ग्याप देखिरहेको छु,’ रेग्मीले भने, ‘केही त विवादमा पनि परिरहनुभएको छ । राजनीतिक स्वतन्त्रताको कारणले जान मिल्छ । तर, प्रश्न उठ्छ कि राजनीतिक क्षेत्रका लागि चाहिने जे जे चिजहरू छन्, त्यो चिज पत्रकारबाट यत्तिकै आउँदैन ।’

उनले पछिका क्रियाकलाप नहेरी सबै ठीक हो भनेर भन्न नसकिने पनि बताए । ‘फ्रिडम अफ एक्सप्रेसन’ मा विद्यावारिधी गरेका पूर्वपत्रकार अधिवक्ता डा. नारायण कँडेलले पेशागत दृष्टिले पनि योगदान गर्न सकिन्छ भनेर पत्रकार चुनावमा जानु सकारात्मक रहेको बताए । ‘राम्रो उपचारका लागि अब्बल चिकित्सकको खाँचो परेजस्तै राजनीतिमा पनि पत्रकारसहित विभिन्न पेशाका व्यक्ति जाँदा विज्ञतासँगै विविधीकरण हुने भएकाले राम्रो मान्नुपर्छ,’ अधिवक्ता डा.कँडेलले भने ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार