२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

अमेरिका डब्लुएचओबाट फिर्ता, विश्व स्वास्थ्यमा अनिश्चितता

सत्यपाटीसत्यपाटी । न्युयोर्क । २०८२ माघ ९ गते शुक्रबार

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबिचका सबै विषय पूर्णरूपमा टुङ्गिएका छैनन् ।

डब्लुएचओका अनुसार अमेरिकाले अझै सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता छ । यद्यपि ट्रम्प प्रशासनका अधिकारीले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गरेका छन् । अर्कोतर्फ, विज्ञले अमेरिकाले डब्लुएचओमार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानी सम्बन्धी महत्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा औंल्याएका छन् ।

राष्ट्रपति ट्रम्पले कोभिड–१९ महामारीको व्यवस्थापनमा डब्लुएचओ असफल भएको, आवश्यक सुधार लागू गर्न नसकेको तथा सदस्य राष्ट्रको राजनीतिक प्रभावबाट स्वतन्त्र रहन नसकेको आरोप लगाउँदै सङ्गठनबाट बाहिरिने कार्यकारी आदेश जारी गरेका थिए । उनका अनुसार डब्लुएचओले महामारीका बेला मास्क प्रयोग र भाइरसको हावाबाट फैलिने विषयमा ढिलाइपूर्ण र गलत सल्लाह दिएको थियो ।

सार्वजनिक स्वास्थ्य विज्ञले अमेरिकी निर्णयले विश्वव्यापी रोग नियन्त्रण प्रयासमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । जर्जटाउन विश्वविद्यालयका विशेषज्ञ लरेन्स गोस्टिनले यस निर्णयलाई ‘दीर्घकालीन रूपमा अत्यन्तै हानिकारक’ भन्दै यसले नयाँ महामारी, पोलियो उन्मूलन, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र खोप तथा औषधि विकास प्रक्रियामा बाधा पुर्याउने बताए ।

डब्लुएचओ संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विशेष स्वास्थ्य निकाय हो, जसले इबोला, एमपक्स, पोलियो जस्ता रोगको प्रकोप नियन्त्रणमा समन्वय गर्ने, गरिब राष्ट्रलाई प्राविधिक सहयोग प्रदान गर्ने तथा विश्वव्यापी स्वास्थ्य मापदण्ड तय गर्ने काम गर्दै आएको छ । विश्वका प्रायः सबै देश यसका सदस्य छन्, र अमेरिकाको फिर्तीलाई विश्व स्वास्थ्य व्यवस्थापनका लागि ठूलो झट्काका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार