२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

दल बदल्दै चुनावी मैदानमा, जसपा नेपालका महासचिव एमालेका उम्मेद्वार

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ ९ गते शुक्रबार

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद प्रमोद यादव रुपन्देही क्षेत्र नं.४ बाट टिकट पाउने अपेक्षामा थिए, तर पार्टीले आशुतोष मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेपछि यादवले तत्काल नेकपा (एमाले)सँग संवाद गरे । सोही क्रममा एमालेले अघि सारेकी सुनिता ठटेरको उम्मेदवारी फिर्ता लिएर यादवलाई टिकट दिएको छ ।

२०७४ मा कांग्रेसबाट निर्वाचित र २०७९ मा पराजित यादव पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने पछिल्लो उदाहरण हुन् । पूर्वमन्त्री मोहम्मद इस्तियाक राई उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ गतेसम्म जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव हुन् । सोही दिन एमाले प्रवेश गरेका उनी बाँके क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

मधेश केन्द्रित राजनीतिमा पहिचान बनाएका राई तीन दशक लामो राजनीतिक यात्रामा राप्रपा, मधेशी जनअधिकार फोरम हुँदै हाल एमालेमा पुगेका छन् । कपिलवस्तु क्षेत्र नं.३ मा कांग्रेसबाट एकल सिफारिसमा परेका वीरेन्द्र कनोडियाले टिकट पाउने सम्भावना कमजोर भएपछि एमाले प्रवेश गरे । उनी माघ १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेश गरी माघ ६ गते कपिलवस्तु क्षेत्र नं.३ बाट उम्मेदवार बने ।

कनोडिया २०७४ मा कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । दल परिवर्तनको क्रम प्रदेशसभासम्म फैलिएको छ । बर्दियाबाट नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी हाल उक्त पार्टीका महासचिव समेत हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बाँके क्षेत्र नं.१(१) का प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके क्षेत्र नं.१ मा उम्मेदवारी दिएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीका रुपन्देही क्षेत्र नं.४(१) का प्रदेशसभा सदस्य कन्हैया बानियाँले पनि प्रदेशसभा पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले पार्टी छाडेर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं.१ बाट रास्वपाबाट उम्मेदवारी दिएका छन् । उनी अघिल्लो निर्वाचनमा पार्टी कारबाहीमा परेका थिए । हृदयेश त्रिपाठी जसपाबाट उम्मेदवार बनेका छन् भने कपिलवस्तु क्षेत्र नं.४ का पूर्वसांसद बृजेशकुमार गुप्ताले एमालेबाट टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका छन् । पूर्वएसएसपी विक्रमसिंह थापा कांग्रेस छाडेर रास्वपाबाट कपिलवस्तु क्षेत्र नं.२ मा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार