२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

खजुरामा आजदेखि धार्मिक सद्भावको मुसबेटवा बाबा मेला

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ ९ गते शुक्रबार

हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला आज शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार बिहान इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्थानीय अगुवासहित संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गरे ।

हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र विरलै देख्न पाइने पाइने स्थानीय झकबहादुर पौडेलले बताए । उनले भने, ‘यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ, आजको दिन भारतबाट समेत आस्थावानहरु आउने गरेका छन् ।’

मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ । यहाँ १०० वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार