नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले दुई चीरपरिचित प्रतिद्वन्दी उद्योगपतिलाई एकै पदेशमा चुनावमा प्रत्यक्षतर्फ उम्मेद्वार बनाएर मैदानमा उतारेका छन् । पछिल्लो समय बिनोद चौधरीलाई काउन्टर दिन खडा गरिएका करेन्ट चाउचाउका मालिक चुन्नुप्रसाद पौडेललाई थापाले उम्मेदवार बनाएका हुन् ।
एउटै राजनीतिक दलको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्न लागेका यी दुई उम्मेदवारहरू व्यावसायिक जीवनमा कट्टर प्रतिस्पर्धी रहेको र अदालतमा विचाराधीन मुद्दाका पक्ष–विपक्ष अर्थात् ‘झगडिया’ रहेको तथ्य सार्वजनिक भएको छ । चौधरी ग्रुपका अध्यक्ष तथा डलर अर्बपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।
यसैगरी, यशोदा फुड्सका सञ्चालकसमेत चुन्नुप्रसाद पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल उममेदवार छन् । जनतासँगको मित्रवत सम्बन्ध र जनप्रिय कामका कारण बिष्णु सो निर्वाचन क्षेत्रमा आजसम्म पराजीत हुनुपरेको छैन ।
कांग्रेसले बिनोद चौधरीको कट्टर दुश्मन चुन्नुलाई छानेको हो । प्राप्त विवरण अनुसार यी दुई उम्मेदवारबीच गम्भीर व्यावसायिक तथा कानूनी द्वन्द्व विद्यमान छ । विनोद चौधरीको स्वामित्वमा रहेको ‘वाईवाई’ चाउचाउ र चुन्नुप्रसाद पौडेलको उत्पादन ‘करेन्ट’ चाउचाउ बजारका प्रत्यक्ष प्रतिस्पर्धी हुन् ।
साथै, चुन्नुप्रसाद पौडेल ‘करेन्ट’ तथा ‘भोला’ गुट्खा उत्पादन गर्ने श्रीराम टोबाकोका सञ्चालक समेत रहेको खुल्न आएको छ । चौधरी ग्रुपले यशोदा फुड्सविरुद्ध ‘ट्रेडमार्क चोरी’को आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । चौधरी ग्रुपको दाबी अनुसार यशोदा फुड्सले वाईवाईको प्याकेजिङ र ट्रेडमार्क नक्कल गरेको थियो ।
यस विषयमा सर्वोच्च अदालतले अगस्ट २०२४ मा यशोदा फुड्सलाई वाईवाई जस्तै देखिने प्याकेट बजारबाट फिर्ता गर्न र उत्पादन रोक्न आदेश दिइसकेको छ । एउटै पार्टीबाट उम्मेदवार बने तापनि कानूनी रूपमा उनीहरू एक–अर्काका विपक्षीको हैसियतमा छन् । हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थापाले टिकट वितरणमा निर्णायक भूमिका खेलेका थिए ।
दुवै व्यवसायीलाई सभापति थापाको विश्वासपात्रको रूपमा हेरिएको छ । टिकट वितरण प्रक्रियाका सम्बन्धमा विनोद चौधरीले ‘पैसाको चलखेल नभएको’ भन्दै नयाँ नेतृत्वको बचाउ गरेका छन् । नेकपा एमालेका विष्णु पौडेल पाल्पाबाट चुनाव लड्न जाने चर्चा चलेपछि चुन्नुप्रसाद पौडेलले रुपन्देहीबाट टिकट लिने प्रयास गरेको बताइएको छ । तर बिष्णुलाई रुपन्देहीकै मतदाताले बाटो छेकेर पाल्पा जानबाट रोकेपछि चुन्नु तनावमा परेका छन् ।
सत्यपाटी