नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् ।
यी घटनाहरूमा परेर ४२४ जनाले ज्यान गुमाएका छन् भने एक हजार ६४३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार ३८ जना अझै बेपत्ता छन् भने ११ हजार ५३५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । विपद्का विभिन्न स्वरूपमध्ये सबैभन्दा भयावह अवस्था आगलागीको देखिएको छ ।
देशभर भएका दुई हजार ६९२ वटा आगलागीका घटनामा ७५ जनाको मृत्यु भएको छ भने दुई हजार ९९६ परिवारको उठिबास भएको छ । यस्तै पहिरोका ५७७ घटनामा ७१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, वन डढेलो, हुरीबतास र जनावरको आक्रमणका कारण पनि उल्लेख्य मानवीय क्षति भएको छ ।
पछिल्लो समय चिसो बढेसँगै आगलागीका घटनामा थप बढोत्तरी भएको भन्दै प्राधिकरणले सामान्य सावधानी अपनाउँदा मात्रै पनि यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिने तर्फ सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।
