दाङको देउखुरीस्थित राजपुर गाउँपालिका–३ भैरहवाकी रक्षाकुमारी यादव २० वर्षमै सरकारी विद्यालयको प्रधानाध्यापक बनेकी छन् । बबई गाउँपालिका–७ जलजलास्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत उनी यादव समुदायमा छोरीलाई सानैमा बिहे गरिदिने प्रचलन तोड्दै उदाहरणीय पात्र बनेकी हुन् ।
सानैदेखि पढाइमा अब्बल रक्षाले ‘पढ्छु, चाँडै विवाह गर्दिनँ’ भनेर अभिभावकलाई सम्झाएकी थिइन् । परिवारको साथ र आफ्नो मेहनतले उनी प्रधानाध्यापक बन्न सफल भइन् । उनका अनुसार उमेरभन्दा पनि जिम्मेवारी र दृष्टिकोण महत्वपूर्ण हुन्छ । प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा गुणस्तरीय शिक्षा, बालमैत्री वातावरण र प्राविधिक शिक्षालाई प्राथमिकता दिएकी छन् ।
उनको सफलताले समुदायमा छोरीलाई पनि पढाउनुपर्छ भन्ने सन्देश गएको छ । सामान्य किसान परिवारकी रक्षाले कक्षा ६ देखि १२ सम्म सिपी नेपालको सहयोगमा पढिन् । १२ पछि शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरी २०८० चैत २७ मा हाजिर भइन् । हालै स्नातक पूरा गरेकी उनले अब अंग्रेजी विषयमै एमए गर्ने योजना बनाएकी छन् ।
सत्यपाटी