२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

केपी ओलीका विश्वासपात्रले छाडे एमाले, बालेनलाई सघाउने घोषणा

सत्यपाटीसत्यपाटी । झापा । २०८२ माघ ८ गते बिहीबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट विश्वासपात्र तथा नेकपा एमालेका नेता डा.रामबाबु गिरीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहलाई सघाउने बताएका छन् ।

झापास्थित बी एन्ड सी मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा.गिरीको झापा जिल्लामा उल्लेखनीय राजनीतिक तथा सामाजिक प्रभाव रहेको स्थानीयहरू बताउँछन् । एमालेभित्र ओलीका निकट सल्लाहकार मानिने डा.गिरीले निर्वाचनको मुखमा पार्टी छाड्नु एमालेका लागि ठूलो राजनीतिक झट्का मानिएको छ ।

स्थानीय तहमा मात्रै होइन, झापामा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न राजनीतिक दल, झापा उद्योग वाणिज्य संघ तथा उद्योगी–व्यापारी समुदायमा समेत डा. गिरीको बलियो पकड रहेको बताइन्छ । एमालेबाट राजीनामा दिएको पुष्टि गर्दै डा.गिरीले आफू परिवर्तनको पक्षमा रहेको बताएका छन् ।

देशको वर्तमान अवस्थाका लागि केपी शर्मा ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै उनले अब देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने धारणा राखे । डा.गिरीले झापा–५ मा ओलीलाई होइन बालेन शाहलाई सघाउने र झापा जिल्ला मात्र नभई प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा प्रचार–प्रसार गर्ने बताएका छन् । परिवर्तनको यस घडीमा आफ्नो सम्पूर्ण शक्ति बालेन शाहलाई प्रधानमन्त्री बनाउन केन्द्रित गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार