२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

तीन दलका शीर्ष नेतृत्व नै चुनाव हार्ने जोखिममा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ८ गते बिहीबार

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिँदै गएको छ । राजनीतिक दलहरू उम्मेदवार चयनको अन्तिम चरणमा पुगिसकेका छन् भने उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

चुनावी चर्चासँगै पुराना र स्थापित नेताहरूको राजनीतिक भविष्यलाई लिएर समेत बहस सुरु भएको छ । विशेषतः ‘जेनजी’ पुस्ताको राजनीतिक सक्रियता र नयाँ नेतृत्वप्रतिको आकर्षण बढेसँगै परम्परागत नेताहरूको जनविश्वास कमजोर हुँदै गएको आकलन गरिँदैछ । यसले मतदानको प्रवृत्ति नयाँ पुस्तातर्फ मोडिन सक्ने संकेत देखिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आठौँ पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका ओलीलाई जेन–जी आन्दोलनपछि चर्चामा आएका काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चुनौती दिने चर्चा छ ।

यसले ओलीको निर्वाचनलाई यसपटक चुनौतीपूर्ण बनाएको विश्लेषण गरिएको छ । यता नेकपाका सह–संयोजक माधवकुमार नेपाल रौतहट–१ बाट चुनावी मैदानमा उत्रिएका छन् । तर सो क्षेत्रमा उनको पक्षमा मतदाताको उत्साह कमजोर देखिएको चर्चा चलिरहेको छ । त्यस्तै, चितवन र गोरखाबाट निर्वाचित हुँदै आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुम पूर्वबाट चुनाव लड्दै छन् ।

सशस्त्र द्वन्द्वकालमा माओवादीको किल्ला मानिने रुकुमबाट जित सुनिश्चित गर्ने अपेक्षासहित पुगेका प्रचण्डप्रति नयाँ पुस्ताको आकर्षण भने अपेक्षाकृत कमजोर देखिएको बताइन्छ । चुनावी माहोललाई नियाल्दा उनको जित सुनिश्चित देखिँदैन भन्ने विश्लेषणसमेत गरिएको छ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पनि पुनः काठमाडौँ–५ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि कांग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका पोखरेल फेरि उनैसँग भिड्दै छन् । यसपटक पनि उनको चुनावी स्थिति कमजोर देखिएको र जितको सम्भावना सुनिश्चित नभएको चर्चा छ । यसैगरी, यसअघि तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा यसपटक सर्लाही–४ बाट चुनाव लड्दै छन् ।

भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्ने प्रयासमा रहेका थापाको जितको सम्भावना भने कमजोर देखिएको चुनावी विश्लेषणहरूमा उल्लेख छ । यस क्षेत्रमा कांग्रेसका पूर्व नेता तथा हाल रास्वपाका अमरेश कुमार सिंहसँग उनको प्रतिस्पर्धा हुँदैछ । अघिल्ला निर्वाचन परिणामहरू हेर्दा सिंहको बलियो पकड रहेको देखिने भएकाले थापाको चुनावी यात्रा चुनौतीपूर्ण बन्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार