नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी सहकार्यका लागि पटक–पटक टेलिफोन सम्पर्कको प्रयास गरेको खुलेको छ । झापा–५ बाट ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेपछि ओली राप्रपासँग तालमेलको सम्भावना खोज्न थालेका हुन् ।
तर, ओलीको पटक–पटकको फोन प्रयासलाई लिङ्देनले बेवास्ता गरेको राप्रपाका एक स्थानीय नेताले दाबी गरेका छन् । ती नेताका अनुसार राप्रपाले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट नीति लिइसकेको छ । यही कारणले ओलीको प्रस्तावप्रति लिङ्देनले चासो नदेखाएको उनको भनाइ छ ।
उनले भने, ‘ओलीजीले दुई–तीन पटक फोन गरेका थिए । अध्यक्ष ज्यूले कुरा बुझिसकेको हुनाले फोन उठाउनुभएन । चुनावअघि गठबन्धन नगर्ने हाम्रो नीति स्पष्ट छ । सायद इतिहासमै पहिलोपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ । जित–हार आफ्नो ठाउँमा छ, तर अपवित्र गठबन्धनको हामी सधैँ विपक्षमा छौँ ।’
झापा–५ मा रास्वपा उम्मेदवार साहप्रति देखिएको जनसमर्थनले ओलीलाई दबाबमा पारेको एमाले नेताहरू बताउँछन् । केही दिनअघिसम्म राप्रपासँग सहकार्यप्रति खास चासो नदेखाएका ओली पछिल्लो ‘ग्राउन्ड रियालिटी’ बुझ्दै जाँदा अघिल्ला निर्वाचनझैँ राप्रपाको सहयोग आवश्यक पर्ने निष्कर्षमा पुगेको एमालेभित्रै चर्चा छ ।
यहीबीच एमाले तथा उसका भातृ संगठनका नेता–कार्यकर्तासँगै कांग्रेसका केही नेताहरू समेत राजीनामा दिएर रास्वपामा आबद्ध हुन थालेपछि ओली थप गम्भीर बनेका स्रोतको दाबी छ । गठबन्धनको सम्भावना खोज्ने क्रममा ओलीले राप्रपाबाट निर्वाचित दमकका मेयर रामकुमार थापासँग पनि छलफल गरिसकेको एमाले नेताहरू बताउँछन् ।
सो भेटघाट सौहार्दपूर्ण भएको उनीहरूको भनाइ छ । निर्वाचन प्रचारका सिलसिलामा झापा पुगेका ओलीलाई मेयर थापाले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो घरसमेत अवलोकन गराएका थिए । सो अवसरमा मेयर थापाले ‘आफ्नो घर जलाउनेहरूले नै बालेन साहलाई घर भाडामा दिएको’ भन्दै गुनासो गरेका थिए ।
जवाफमा ओलीले ‘यिनीहरू एकै हुन्,’ भनेका थिए । यसले राप्रपा मेयरको झुकाव रास्वपा उम्मेदवारभन्दा ओलीतर्फ देखिएको एमाले नेताहरूको बुझाइ छ । एमाले नेताहरूका अनुसार सो कुराकानीमा मेयर थापाले व्यक्तिगत रूपमा ओलीलाई सघाउन तयार रहेको संकेत गरे पनि औपचारिक निर्णयका लागि अध्यक्ष लिङ्देनसँग गहिरो छलफल आवश्यक रहेको बताएका थिए ।
तर, लिङ्देनले यसपटक ओलीको फोन नै नउठाएर स्पष्ट सन्देश दिएको उनीहरूको भनाइ छ । ओली र लिङ्देनबीच सहकार्यको प्रयास यसअघि पनि भएको थियो । उम्मेदवारी मनोनयनअघिसम्म ओलीले लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार होल्ड गरेर राखेका थिए । तर, अन्ततः संवाद हुन नसकेपछि उम्मेदवार खडा गरिएको एमाले स्रोतले जनाएको छ ।
यता राप्रपाले पनि ओलीको निर्वाचन क्षेत्रमा लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाइसकेको छ । यद्यपि लिङ्देनको ओलीसँग सहकार्य गर्ने चाहना पूर्णतः समाप्त भएको भने होइन । विगतका निर्वाचनमा ओलीको सहयोगमा जित्दै आएका लिङ्देन यसपटक पनि सहकार्य दोहो¥याउन इच्छुक थिए । तर, हिन्दूराज्य र राजसंस्थाबारे ओलीको स्पष्ट असहमतिको दृष्टिकोणका कारण राप्रपाभित्र गठबन्धनमा ‘ब्रेक’ लागेको नेताहरू बताउँछन् ।
सत्यपाटी