२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

माधव नेपालविरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ

सत्यपाटीसत्यपाटी । रौतहट । २०८२ माघ ८ गते बिहीबार

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ (दर्ता नगरी तामेलीमा राख्ने काम) गरिदिएको छ ।

नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो । प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार रामनरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेश गरेका थिए ।

उजुरीमा पतञ्जली योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो ।

यादवले भ्रष्टाचार निवारण ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न प्रावधानहरूलाई आधार मान्दै नेपालको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गरेका थिए । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीमा उल्लेखित आरोपहरूलाई पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको ठहर गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुन बमोजिम उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएकाले उजुरीलाई दरपीठ गरिएको हो । यस निर्णयसँगै नेपालको उम्मेदवारी यथावत कायम रहेको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार