२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

देशभर १५७ जेनजी उम्मेदवार, रास्वपामा धेरै, कांग्रेसमा शुन्य

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक जेनजी पुस्ताका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार, कुल तीन हजार ४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये ७० जना दलगत छन् भने ८७ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

संविधान अनुसार प्रतिनिधिसभा उम्मेदवारका लागि न्यूनतम २५ वर्ष उमेर आवश्यक भएकाले जेनजीमध्ये २५–२८ वर्षका मात्र योग्य छन् । निर्वाचन आयोगका अनुसार, कुल उम्मेदवारको १५ प्रतिशत ३५ वर्षमुनिका छन्, जसले युवा पुस्ताको बढ्दो राजनीतिक सक्रियतालाई प्रष्ट देखाएको छ ।

तर प्रमुख दलहरूमा जेनजी प्रतिनिधित्व भने निकै न्यून देखिएको छ । नेपाली कांग्रेसबाट कुनै जेनजी उम्मेदवार छैनन्, भने अन्य दलहरूमा पनि सीमित स्थान मात्र पाएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दुई जना उम्मेदवार उठेका छन् ।

जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टीबाट कोही जेनजी प्रतिनिधी छैनन् भने जनमत पार्टीबाट तीन जना जेनजी उम्मेदवार उठेका छन् भने अर्कोतर्फ अघिल्लो संसद्मा नरहेका वा साना दलहरूले जेनजीमा बढी जोड दिएका छन् । कुलमानको उज्यालो नेपाल पार्टीले सात र हर्क साम्पाङको श्रम संस्कृति पार्टीले चार जना जेनजी उम्मेदवार उतारेका छन् ।

उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीलाई राष्ट्रिय दल बन्ने सम्भावित उम्मेदवार दलका रुपमा हेरिएको छ । अन्य दलहरूमा नेपाल मजदूर किसान पार्टीबाट छ, श्रम संस्कृति पार्टीबाट चार, उज्यालो नेपाल पार्टीबाट सात, आम जनता पार्टीबाट तीन, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट एक, जनअधिकार पार्टीबाट एक जना उम्मेदवार उठेका छन् ।

त्यस्तै जनता लोकतान्त्रिक पार्टी नेपालबाट एक, जनादेश पार्टी नेपालबाट दुई, जय मातृभूमि पार्टीबाट एक, नेपाल जनता पार्टीबाट एक, नेपाल जनसेवा पार्टीबाट दुई, नेपालका लागि नेपाली पार्टीबाट दुई जना उम्मेदवार उठेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चार, मंगोल नेशनल अर्गनाइजेसनबाट पाँच, मितरी पार्टी नेपालबाट चार उम्मेदवार उठेका छन् ।

राष्ट्र निर्माण दल नेपालबाट तीन, राष्ट्रिय जनमुक्ति पार्टीबाट एक, राष्ट्रिय परिवर्तन पार्टीबाट चार, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट एक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक, संयुक्त नागरिक पार्टीबाट एक र समावेशी समाजवादी पार्टीबाट एक जना जेनजी उम्मेदवार उठेका छन् । यी दलहरूले जम्मा ५५ जना जेनजी उम्मेदवार उतारेका छन्, जसले साना दलहरूमा युवा नेतृत्वको बढ्दो प्रवृत्ति देखाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार