२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

गगनको बदला टिकटमा, ‘१२० सिटमा आफ्ना, देउवा र शेखरलाई २७ प्रतिशत’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ७ गते बुधबार

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापाले दुई तिहाइभन्दा बढी सिटमा आफ्नो पक्षका उम्मेदवार उठाएका छन् ।

पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापाले शेरबहादुर देउवा समूहलाई १९ र शेखर कोइराला समूहलाई ८ प्रतिशतमा सीमित पारिदिएका छन् ।

सभापति थापाले १२० सिटमा आफूनिकटलाई उम्मेदवार बनाउँदा देउवा पक्षका ३२ र कोइराला पक्षबाट १३ जना मात्र चुनावी मैदानमा छन् । थापा पक्षको हिस्सा ७३, देउवा पक्षको १९ र कोइराला पक्षको ८ प्रतिशत उम्मेदवार रहेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ र माघ ११ हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा देउवा र कोइरालाबाट पेलिएका सभापति थापाले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा बदला लिएको देखिन्छ ।

फागुन २१ निर्वाचनमा कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अगाडि सारिएका थापाले समानुपातिकतर्फका सांसदको हिसाब–किताब मिलाउन प्रत्यक्षमा आफूनिकट दुई तिहाइ उम्मेदवार चुनावी मैदानमा पठाएको बुझ्न गाह्रो छैन ।

यस्तो छ उम्मेदवारको प्रदेशगत हिसाब

  • कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ सिटमा थापा पक्षका उम्मेदवार बनेका छन् । देउवा पक्षले पाँच र कोइराला पक्षले छ सिटमा मात्र टिकट पाएको छ ।
  • मधेस प्रदेश प्रदेशका ३२ सिटमा सभापति थापाले २१ सिटमा आफू पक्षीय उम्मेदवार उठाएका छन् । चुनाव लड्न सर्लाही चार पुगेका थापाले देउवा र कोइराला निकटलाई टिकटमा कसेको देखिन्नछ । मधेसमा देउवा पक्षका नौ र कोइराला पक्षका दुई जना उम्मेदवार छन् ।
  • बागमती प्रदेशमा सभापति थापा पक्षको एकलौटी नै देखिन्छ । ३३ मध्ये २९ सिटमा थापा पक्षका उम्मेदवार बन्दा देउवा पक्षले चार सिटमा मात्र टिकट पाएको अवस्था छ ।
  • गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा थापा पक्षले १४ सिटमा उम्मेदवार खडा गर्दा देउवा पक्षले चार जना उम्मेदवार मात्र पाएको छ ।
  • लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा १७ ठाउँमा थापानिकटले टिकट पाएर उम्मेदवारी दर्ता गराएका छन् । यस्तै देउवा पक्षका चार र कोइराला पक्षका पाँच जना मात्र उम्मेदवार बनेका छन् ।
  • कर्णाली प्रदेशका १२ सिटमा थापा पक्षका ११ जनाले टिकट पाएका छन् भने देउवा पक्षका एक जना मात्र छन् ।
  • सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये थापा पक्षबाट ११ र देउवा पक्षबाट पाँच सिटमा उम्मेदवार बनेका छन् ।
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार