२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

पतञ्जलि जग्गा प्रकरणले माधव नेपालको उम्मेदवारी सङ्कटमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं.१ बाट उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी सङ्कटमा परेको छ ।

सोही क्षेत्रका अर्का उम्मेदवार राम नरेश यादवले नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय गौरमा बुधबार औपचारिक उजुरी दर्ता गरेका हुन् । उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेता नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र उनी निलम्बित अवस्थामा रहेकाले चुनाव लड्न अयोग्य भएको दाबी गरिएको छ ।

विशेषगरी पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा चलिरहेको विषयलाई उजुरीको मुख्य आधार बनाइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को प्रावधान अनुसार भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको जिकिर यादवले गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गौरले उजुरी प्राप्त भएको पुष्टि गर्दै यसबारे आवश्यक कानुनी प्रक्रिया र छानबिन सुरु गरिसकेको बताएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार दाबी विरोधमाथि जाँचबुझ गरी माघ ८ गते बेलुकासम्म उम्मेदवारी कायम रहने वा बदर हुने भन्नेबारे अन्तिम निर्णय सुनाइनेछ । यो उजुरीले रौतहटको राजनीतिक वृत्तमा निकै हलचल पैदा गरेको छ भने माधव नेपालको पक्षबाट यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार