प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा कुल ३४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ६८ राजनीतिक दलबाट दुई हजार २९७ र स्वतन्त्रतर्फ एक हजार १९७ जनाले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये पुरुष तीन हजार ८८, महिला ३९५ र अन्य समूहबाट एक जना महिला छन् । नाम फिर्ता लिने र दाबी विरोधको प्रक्रिया सकिएपछि उम्मेदवारको संख्या केही घट्न सक्नेछ ।
उमेरसमूहअनुसार, ३६–५० वर्षका उम्मेदवार सबैभन्दा धेरै छन् । यस समूहमा एक हजार ६१० जना उम्मेदवार रहेका छन् । २५–३५ वर्षका उम्मेदवार ५८३ र ५१–६५ वर्षका एक हजार ९० छन् । ६५ वर्षभन्दा माथिका उम्मेदवार २०१ जना छन् ।
प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि महिला उम्मेदवार न्यून रहेको देखिएको छ । कुल उम्मेदवारमध्ये केवल ३९५ जनालाई महिलाले प्रतिनिधित्व गरेका छन् ।
दलहरूले महिला समानुपातिक कोटाबाट आवश्यक प्रतिनिधित्व पूरा गर्दै आएका छन् । पछिल्लो सूचीअनुसार, कांग्रेस र नेकपाले ११–११ जना, एमालेले १० जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । रास्वपाले अन्य प्रमुख दलको तुलनामा केही बढी महिला उम्मेदवार समेटेको छ ।
सत्यपाटी