२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

झापाको एमाले ‘लालकिल्ला’मा युवा सङ्घको धक्का, पदाधिकारी टोली बालेनतिर

सत्यपाटीसत्यपाटी । झापा । २०८२ माघ ७ गते बुधबार

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा एमालेलाई ठूलो झड्का लागेको छ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष, सचिव र उपाध्यक्षले एकैपटक पद तथा पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिने निर्णय गरेका छन् ।

युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरेले पार्टी छाडेको घोषणा गरेलगत्तै उपाध्यक्ष विजय तामाङले पनि पद र पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रभावशाली तीनै जना पदाधिकारी एकैपटक बाहिरिएपछि एमालेको ‘लालकिल्ला’ मानिँदै आएको दमकमा पार्टीको विरासतमा गम्भीर धक्का लागेको विश्लेषण गरिएको छ ।

यसअघि नगर अध्यक्ष खतिवडाले एमालेको सङ्गठित सदस्यसमेत नरहने गरी राजीनामा दिँदै झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए । उनले समयको माग र परिवर्तनलाई आत्मसात् गर्दै स्वतन्त्र राजनीतिक अभियानमा जोडिएको बताएका थिए ।

लगत्तै सचिव गैरेले पनि सामाजिक सञ्जालमार्फत नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको सार्वजनिक गरेका थिए । अब उपाध्यक्ष तामाङ पनि सोही समूहमा सामेल भएपछि दमकमा एमाले निकट युवाहरूको ठुलो पङ्क्ति स्वतन्त्र अभियानतर्फ आकर्षित भएको देखिएको छ ।

अध्यक्ष ओलीको आफ्नै गृहनगर तथा निर्वाचन क्षेत्रमा युवा सङ्घको नेतृत्व तह नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको चुनावी अभियानमा लाग्नुलाई राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार