मंगलबार तामझामका साथ नेताहरूले आ–आफ्नो क्षेत्र पुगेर प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराए । ‘हेभीवेट’ भीडन्त हुने क्षेत्रदेखि हरेक ठाउँमा उत्साह देखियो । कतिपय ठाउँका दृश्य झनै रोचक छन् । भक्तपुर–२ मा चर्को राजनीतिक प्रतिस्पर्धा हुने मात्रै देखिएन, केही अनौठो पनि देखियो ।
यस क्षेत्रमा नेकपा एमालेबाट महेश बस्नेत, रास्वपाबाट राजीव खत्री, नेकपाबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’सँगै नेपाल जनादेश पार्टीबाट शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । शोभा तिनै व्यक्ति हुन्, जसको नाम महेशसँगको विवादमा जोडिँदै आएको छ । पछिल्लो पटक महेश एमालेमा प्रभावशाली बन्दै गएका छन् ।

उनले भक्तपुर क्षेत्रलाई विकास, पूर्वाधार र रोजगारीको केन्द्र बनाउने दाबी पनि गर्दै आइरहेका छन् । उम्मेदवारी दर्तापछि बस्नेतले विगतमा थालेका विकासका कामलाई निरन्तरता दिन र स्थिर सरकार निर्माणका लागि आफू पुनः जनताको बीचमा आएको बताएका छन् । तर, उनैलाई टक्कर दिन भन्दै शोभा पनि चुनावी मैदान उत्रिएकी छन् ।
शोभा सामाजिक सञ्जाल र नागरिक अभियानमार्फत पनि चर्चामा आएकी पात्र हुन् । उनले आफूलाई स्थापित राजनीतिक दलको विकल्पका रूपमा प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएको दाबी गरेकी छन् । पाठकले राजनीति आम नागरिकका समस्या समाधान गर्ने माध्यम हुनुपर्ने भन्दै पारदर्शिता, जबाफदेहिता र महिला–युवाको सशक्त सहभागितालाई आफ्नो मुख्य एजेन्डा बनाएको बताइन् ।
उनले केही समयअघि आफू पीडित भएको र न्याय नपाएको गुनासो गर्दै अब सबैले न्याय पाउनुपर्छ भन्ने उद्देश्यका साथ चुनावी मैदानमा आएको बताइन् । आफै अन्यायमा परिहेको र त्यसका विरुद्ध बोल्दा सरकारका निकायहरूले नै नसुनेपछि सदनमै गएर आवाज उठाउने उनको दाबी छ । महेशलाई आफूमाथि यौन शोषणको आरोप लगाउँदै आएकी शोभा यो पटक भने उनैको प्रतिस्पर्धी बन्न चुनावी मैदानमा उत्रिएकी हुन् ।
सत्यपाटी