प्रतिनिधिसभाका लागि आगामी २१ फागुनमा हुने निर्वाचनमा तीन हजार ४२८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आज साँझसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४२८ जनाको मनोनयन दर्ता भएको हो । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार महिला उम्मेदवारको संख्या ३९१ र पुरुषको संख्या तीन हजार ३७ रहेको जानकारी दिए । देशभरिका निर्वाचन कार्यालयबाट तथ्यांक आउने क्रम जारी रहेकाले अझै थपिन सक्ने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।
प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि ६ माघमा लिइएको मनोनयनमा उत्साहजनक उपस्थिति रहेको आयोगको दाबी छ । देशभरको १६५ निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलबाट र स्वतन्त्रबाट गरी उम्मेवारी दिएका छन् । ११० सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउँछन् । समानुपातिकका लागि राजनीतिक दलहरुले बन्दसूची बुझाएर प्रक्रियामै रहेको पनि आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार भोलि (बुधबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । ८ माघमा उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे ९ माघको बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ ।
सत्यपाटी