नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश सँगै नेकपाले उनलाई ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको छ । गरुङले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।
गुरुङले यसअघि नेकपा (एमाले)बाट २०७४ मा ओखलढुंगामा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य बनेका उनी कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री तथा राज्यमन्त्री समेत रहिसकेका छन् । नेकपाबाट टिकट पाएर उम्मेदवारी दर्ता गराएका गुरुङले एमालेमा राजनैतिक भविष्य नभएको भन्दै नेकपामा प्रवेश गरेको बताए । उनी तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।
ओखलढुंगा कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि वामपन्थीहरूले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । गुरुङ पूर्वाधार विकास, सडक, विमानस्थल (जस्तै रुम्जाटार विमानस्थल) सञ्चालन, भ्रष्टाचारविरुद्ध अभियान र क्षेत्रीय विकासमा सक्रिय रहेर परिचित छन् । उनले वर्तमान परिपेक्षेमा देशका लागि आवश्यक पार्टी नेकपा भएको भन्दै निर्वाचनमा जनताको विश्वास जितेर विकासका कामलाई थप गति दिने बताएका छन् ।
सत्यपाटी