आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गर्न मुख्य दलका शीर्ष नेताहरू आ–आफ्नो चुनावी क्षेत्रमा पुगेका छन् । मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शीर्ष नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
शीर्ष नेताहरुसहित चुनावी मैदानमा चार जना पूर्वप्रधानमन्त्रीहरु समेत रहेका छन् । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्। यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दैछन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल यस पटक उम्मेदवार बनेका छैनन् । झापा २ वाट प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख ईन्दिरा राना चुनावी प्रतिस्प्रर्धा गर्दैछन् । कांग्रेसका सभापति गगन थापाले विगतको काठमाण्डौ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिने भएका छन् ।
सो क्षेत्रमा कांग्रेस ,मधेसवादी हुँदै रास्वपामा प्रवेश गरेका अमरेशकुमार सिंह उम्मेदवार वनेका छन् । यो यसअघि पनि उनैले जितेको क्षेत्र हो । यता कांग्रेसका महामन्त्री गुरुराज घिमिरे मोरङ ४ वाट उम्मेदवार बनेका छन् भने अर्का महामन्त्री प्रदिप पौडेल काठमाडौं ५ बाट चुनाव लड्ने भएका छन् ।
कांग्रेस नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवार बनेका छन् । यसैगरी रास्वपाका सभापति रवि लामिछाने चितवन २ वटा चुनाव उठ्दैछन् भने रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रुपमा अघि सरिएका काठमाडौं महानगरपालिकााका निवर्तमान मेयर बालेन्द्र शाह झापाको क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका छन् ।
यता एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ वाट उम्मेदवारी दर्ता गराएका छन् भने अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ लम्जुङबाट चुनाव उठेका छन् । एमालेका महासचिव शङ्कर पोखरेलले दाङ–२ बाट उम्मेदवारी दिएका छन् । एमाले अध्यक्ष ओलीसँग ११औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका एमाले नेता ईश्वर पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बनेका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी बनेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बनेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवारी दिएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार जना मन्त्रीहरु राजीनामा दिएर चुनाव लड्ने कसरतमा जुटेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गृहजिल्ला म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् ।
यस्तै निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् भने निर्वतमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावी मैदानमा छन् । गुप्ता सिराहा १ बाट चुनाव लड्नेछन् ।
सत्यपाटी