२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

सुदूरपश्चिममा सकियो देउवा पक्षको हालिमुहाली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

सुदूरपश्चिममा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा पक्षका सीमित उम्मेदवारले मात्र टिकट पाएका छन् । यसअघिका निर्वाचनहरूमा हालिमुहाली गरे पनि पार्टी सभापति गगन थापा भएसँगै देउवा समूहलाई टिकट वितरणमा पछाडि पारिएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस प्रदेश सभापति बीरबहादुर बलायरलाई टिकट दिइएको थिए, तर उनले चुनाव नलड्ने बताएका छन् । त्यस्तै डडेल्धुरामा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवाले नै टिकट पाएनन्, उनको ठाउँबाट अब कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ, यद्यपि महर देउवा पक्षकै नेता हुन् ।

स्रोतका अनुसार देउवाले दिन भनेकाहरूलाई पार्टीले टिकट दिएको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न देउवा स्वयंले इक्षा व्यक्त गरेका थिए, तर सभापति थापाले उनलाई टिकट दिन मानेनन् । त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखकले टिकट पाएनन् । अघिल्लो पटक यहाँबाट लेखक निर्वाचित भए पनि यसपटक यो ठाउँमा हरि बोहरालाई टिकट दिइएको छ, बोहरा देउवा पक्षकै हुन् ।

बाजुरामा गगन पक्षका जनकराज गिरीले टिकट पाएका छन् । अछाम–१ मा सभापति थापा पक्षका भरत स्वार, अछाम–२ मा देउवा पक्षका पुष्प शाहले टिकट पाएका छन् । बझाङमा भने थापा पक्षका प्रकाश रसाइली ’स्नेही’लाई कांग्रेसले उम्मेदवार बनाएको छ । बैतडीमा थापा पक्षका चतुर बहादुर चन्द, दार्चुलामा पनि थापा पक्षकै धर्मानन्द जोशीले टिकट पाउन सफल भएका छन् ।

कैलाली–१ मा जनकराज चौधरीले टिकट पाएका छन्, उनी थापा पक्षका नेता हुन् । त्यस्तै यसै जिल्लाको क्षेत्र नम्बर २ मा टिकट पाउने विजय स्वार पनि थापा पक्षकै हुन् । कैलाली ३ नम्बर क्षेत्रमा टिकट पाउने भीम बडुवाल पनि थापा पक्षकै हुन् । क्षेत्र नम्बर ४ मा पार्टी प्रदेश सभापति बलायरलाई टिकट दिइए पनि उनले उम्मेदवार दर्ताका दिन चुनाव नलड्ने बताएका छन् ।

क्षेत्र नम्बर ५ मा भने नरनारायण शाहले टिकट पाएका छन्, उनी तटस्थ देखिएकाले दुवै पक्षले उनलाई समर्थन गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ मा भने गोपी उपाध्यायले टिकट पाएका छन्, उनी पनि सभापति थापा पक्षका हुन् । त्यस्तै कञ्चनपुर–२ मा नारायणप्रकाश साउँद ’एनपी’ ले टिकट पाएका छन्, उनी भने देउवा पक्षका हुन् । डोटीबाट भने भरत खड्काले टिकट पाएका छन्, उनी सभापति थापानिकट हुन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार