नेपाली कांग्रेसबाट यसपटक निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा दुवै उम्मेदवार नहुने भएका छन् ।
जेनजी आन्दोलनपछि अब सक्रिय राजनीति गर्दिन भने पनि देउवाले पुन अन्तिम पटक डडेलधुराबाट उम्मेदवार बन्ने तयारी गरेका थिए ।
तर पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व बदलिएको र सोही नेतृत्वलाई निर्वाचन आयोगले मान्यता समेत दिएपछि आगामी फागुन २१ को निर्वाचनमा देउवा दम्पती नै बाहिरिएका छन् ।
विशेष महाधिवेशनबाट नेतृत्व बदल्ने तयारीको क्रममा देउवा समूहसँगको छलफलमा गगन थापा र विश्वप्रकाश शर्माले राखेका विभिन्न सर्तमा देउवा उम्मेदवार नहुने सर्त समेत थियो ।
टिकट वितरणको क्रममा आरजु उम्मेदवार बन्ने कैलाली ५ मा पहिल्यै नरनारायण शाहलाई टिकट दिने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको निर्णयको विरोधमा सर्वोच्च अदालत गएकाले पूर्णबहादुर खड्का समेत यसपटक उम्मेदवार नबन्ने भएका छन् ।
तर देउवा समूहका प्रकाशशरण महत, एनपी साउद अनि विजयकुमार गच्छदार भने उम्मेदवार बन्ने भएका छन् । शेखर समूहका नेताहरुले पनि धमाधम उम्मेदवारीको अनुमती पत्र लिइरहेका छन् । कांग्रेसले सबै क्षेत्रको उम्मेदवार टुंग्याउन भने सकेको छैन ।
सत्यपाटी