२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

रोल्पाका हरि विश्वकै पहिलो ‘डबल एम्प्युटी’ सेभेन समिट आरोही

रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व किर्तिमान कायम गरेका छन् । ६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि उनी खुशी साट्न सिधैँ नेपाल आएका हुन् ।

शिखर माउन्ट भिन्सनमा सफल आरोहण गरेका बुढा सँगै उनका गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अबिरल राई पनि उपस्थित थिए । अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्व गोरखा सैनिक हुन् ।

सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विष्फोटमा परी दुवै खुट्टा गुमाएका उनी त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अगाडि बढेका छन् । बुढाले आफ्नो अभियान सपनाहरूको विजय–७ शिखर अन्तरगत विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरे ।

बुढाले सगरमाथा आरोहणपछि आफ्नो लक्ष्य सातै महादेशका शिखर चढ्ने रहेको बताएका थिए । यस अभियान अन्तरगत उनले माउन्ट ब्याङ्क (२०१९), माउन्ट किलिमाञ्चारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अर्कोकागुवा (२०२५), कास्र्टेन्स पिरामिडरपुनचक जया (२०२५) र अन्ततः माउन्ट भिन्सन (२०२६) आरोहण गरेका छन् ।

अत्यधिक चिसो, भिरालो पहाड र कठिन आरोहणका चुनौतीहरूको सामना गर्दै, बुढा र उनका टोलीले विशेष उपकरण र प्रोस्थेटिक खुट्टाहरूको प्रयोग गर्दै विश्वका सर्वोच्च शिखरमा पाइला टेकेका थिए । उनले यो सफलता अपाङ्गता सचेतना फैलाउने र अन्यलाई आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने उद्देश्यका लागि हासिल गरिएको बताए ।

बुढाले भने, ‘यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौं र कहिल्यै हार मान्दैनौँ भने जीवनका कुनै पनि चुनौती असम्भव छैन । मैले दुबै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेको छु, र आज सातै महादेशका शिखर चढेको छु । मेरो उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउनु र समाजमा सचेतना फैलाउनु हो ।’

उनले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सफल र अर्थपूर्ण जीवन बिताउन सक्ने बताएका छन् । साथै, नेपालको मात्र नभई विश्वभर अपाङ्गताका बारेमा रहेका गलत धारणालाई परिवर्तन गर्न पनि यो अभियान महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार