२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

निर्वाचन प्रहरी भर्ना हुन बाँकेमा ४,८२८ जनाको आवेदन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ ४ गते आइतबार

बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तरगत चार हजार ८२८ जनाले आवेदन दिएका छन् । दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार ८२८ जनाले आवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले जिल्लाको तीन वटा निर्वाचन क्षेत्रका ४०० मतदान केन्द्रमा अन्य सुरक्षाकर्मीसंगै खटाउनका लागि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरी भर्ना गर्ने कार्य गरिरहेको उनले बताए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवेदन दिएका चार हजार ८२८ जना मध्ये दुई हजार ४९१ जनाको छनोट गर्नका लागि माघ ५ गतेदेखि ७ गतेसम्म आवेदकहरुको शारीरिक परीक्षण र सहिष्णुता परीक्षा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक पातलीका अनुसार माघ ५ गते दर्ता नम्बर १ देखि १६०० सम्मका, माघ ६ गते दर्ता नम्बर १६०१ देखि ३२०० सम्मका र माघ ७ गते ३२०० देखि माथि सबैको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा हुनेछ ।

दुई शिफ्टमा गरिने सो परीक्षाका लागि सार्वजनिक सूचना समेत जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिने कार्य सम्पन्न गरिसकेको छ ।

समितिले निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त लिएको छ । बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । बाँकेमा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेको पनि उनले बताए ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार