२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ ४ गते आइतबार

थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो ।

विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निक्र्यौल त्यही २ गतेको भेलाले गर्ने गथ्र्यो । त्यसपछि माघ महिनाभर केटाका लागि केटी र केटीका लागि केटा तयार गरेर बिहेको समय टुङ्गो लगाएर विवाह गरिदिने चलन थियो ।

तर, अहिले त्यो चलन लोप हुन लागेको थारू अगुवा खुसीराम चौधरीले बताए । ‘पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, तर अहिले त्यो चलन हरायो,’ उनले भने ।

यसरी मागी विवाह गर्ने चलन रहे पनि अहिले आफैँ भागेर पनि विवाह गर्ने तथा आफूले रोजेको केटासँग आफैँ बिहे गरेर जाने भएकाले त्यो चलन हराउँदै गएको चौधरीको भनाइ छ ।

यसरी आफैँ विवाह गर्ने चलन बढेपछि गाउँको बैठकमा विवाहको कुराले खासै प्रवेश नपाउने गरेको उनले बताए । थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । महिनाभरि नै थारू समुदायले माघी मनाउँछन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार