बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको आधारभूत अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणको कार्य ९५ प्रतिशत पूरा भएको गाउँपालिकाले जनाएको छ । गाउँघरमै अस्पताल निर्माण सम्पन्न हुन थालेपछि उपचारका लागि नेपालगन्ज, कोहलपुर वा भारत जानुपर्ने बाध्यता अन्त्य हुने आशा स्थानीयमा बढेको छ ।
सात हजार २६३ घरधुरी र ४६ हजार ५३६ जनसङ्ख्या रहेको जानकी गाउँपालिकाका वासिन्दालाई सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था थियो । समयमै उपचार नपाएर कतिपयले ज्यान गुमाएका घटनाहरू पनि ताजै छन् । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको बताउँदै अस्पताल भवन निर्माण पूरा भएपछि स्थानीयको स्वास्थ्य उपचार सहज हुने विश्वास व्यक्त गरे ।
उनले भवनसँगै जनशक्ति पनि अनिवार्य रहेको जनाउँदै केन्द्र र प्रदेश सरकारसँग डाक्टर, नर्स, ल्याब टेक्निसियन र आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्न आग्रह गरिएको बताए । वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादवले अस्पतालको करिब ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र दुई महिनाभित्र भवन हस्तान्तरण हुने जानकारी दिए । उनले अस्पताललाई गाउँमै आधारभूत सेवा सुनिश्चित गर्ने महत्त्वपूर्ण संरचना भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पताल सञ्चालनमा आएपछि सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे । उनका अनुसार अस्पताल निर्माणका लागि १७ करोड ५४ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा करसहित ११ करोड ४४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो । स्थानीयवासीले अस्पताल भवन बनेकोमा खुसी व्यक्त गरे पनि जनशक्ति नआए सेवा नपाइने चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले भवनसँगै राज्यले तत्काल स्वास्थ्यकर्मीको पनि व्यवस्था गर्नुपर्ने माग गरेका छन् । जानकी गाउँपालिकाका लागि यो अस्पताल भवन संरचना मात्र नभइ राज्यको प्रतिबद्धताको परीक्षा समेत बनेको स्थानीयको भनाइ छ । जनशक्ति सुनिश्चित भएमा मात्र गाउँपालिकाका ४६ हजारभन्दा बढी नागरिकका लागि यो अस्पताल व्यवहारिक र प्रभावकारी बन्ने उनीहरुको भनाइ छ ।
सत्यपाटी