२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

रिडी माघे संक्रान्ति मेलामा दर्शनार्थीको घुइँचो

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८२ माघ ३ गते शनिबार

पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।

माघ १ गतेदेखि यहाँ मेला लागेको छ । रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले बताए ।

माघे संक्रान्तिको अवसरमा परम्परादेखी नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माईली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । भक्तजनहरु टाढा–टाढा बाटा कालीगण्डकीमा स्नान गर्ने, हृषिकेशव भगवानको दर्शन गर्नुको साथै मेला अवलोकन गर्न त्यहाँ पगेका छन् ।

माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अञ्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाईन्छ । विगतदेखि नै पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्ला लगायत छिमेकी देश भारतबाट समेत रुरु क्षेत्र रिडिमा कालीगण्डकी स्नान गरी भगवानको दर्शन गर्न जाने परम्परा नै रहेको छ ।

रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको छ । मेलामा कृत्रिम तालमा डुंगा सयर गर्नेहरूको आकर्षण रहेको छ । पर्यटक आकर्षित गर्न यस वर्ष यहाँका युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरी डुंगा सञ्चालनमा ल्याएका छन् । उक्त कृत्रिम तालमा डुंगा सयर गर्नेको आकर्षण बढ्दो छ ।

बिहीबार पहिलो दिन नै ६९३ जनाले डुंगा सयर गरेका थिए । डुंगा चढ्नेहरूबाट पहिलो प्रति व्यक्ति ३०० रुपैयाँ लिइए पनि दोस्रो दिन शुल्क घटाएर २०० पुर्याइएको छ । भीड बढ्दै गएपछि एक फन्को मात्रै लगाउने भएकोले शुल्क पनि घटाएर प्रतिव्यक्ति २०० रुपैयाँ मात्रै तोकिएको हो । अहिले पनि तालमा डुंगा चढ्नेहरूको भीड छ ।

पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहेको छ । नेपालकै नमुना तीन मुखे पुल समेत मेलाको विशेष आर्कषणको केन्द्र बनेको छ । पाल्पा, गुल्मी र स्याङ्जा तीन वटै जिल्लाबाट पुलमा आवत जावत गर्न सकिन्छ, जसको कारण तीन वटै जिल्लामा रहेका धार्मिक तिर्थस्थलहरुको भक्तजनहरुले सजिलै अवलोकन गर्न पाएका छन् ।

रिडीको तीन मुखे पुलमा धार्मिक भक्तजनसंगै फोटो खिच्ने, भिडियो बनाउने युवायुवतीहरुको पनि विशेष भिडभाड छ । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान, हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागि रुरु क्षेत्रमा आएका छन् । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रीका लागि राखिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार