२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

कांग्रेस सभापति थापाले भने, ‘देउवा र खड्काबाट मार्गदर्शक भूमिका हुन्छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ३ गते शनिबार

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावकत्वको भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले विगतका मतभेदलाई पन्छाउँदै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने समय आएको बताए ।

दोस्रो विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै उनले विधानसम्मततामाथि उठेका प्रश्नलाई स्वाभाविक राजनीतिक अभ्यासका रूपमा लिएको स्पष्ट पारे । ‘केही साथीहरूले आफ्ना असहमति लिएर निर्वाचन आयोग जाने निर्णय गर्नुभयो, यसलाई मैले सहज रूपमा बुझेको छु । हामी स्वयं पनि आयोग पुगेका थियौँ,’ थापाले भने ।

उनका अनुसार निर्वाचन आयोगले यस विषयमा अन्तिम निर्णय गरिसकेको छ र अब सबै पक्षले उक्त निर्णय स्वीकार गर्दै पार्टीलाई साझा उद्देश्यतर्फ लैजानुपर्ने आवश्यकता छ । पार्टी स्थापना कालदेखि अंगीकार गरिएका मूल्यमान्यतालाई थप सुदृढ गर्दै नयाँ पुस्ताको चेतनासँग मेल खाने कांग्रेस निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । त्यसका लागि पुराना र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

समयको दबाब उल्लेख गर्दै सभापति थापाले आगामी दुई दिनभित्रै धेरै महत्वपूर्ण निर्णय र काम सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई एकतामा जोडिन आग्रह गर्दै भने, ‘अब एक–दुई दिनभित्रै नेपाली कांग्रेस एकताबद्ध रूपमा अघि बढ्नेछ । हामी पार्टीका विभिन्न तहका साथीहरूसँग निरन्तर संवादमा छौँ ।’

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार