बाँकेको राप्तीसोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाईभैँसीको स्याहारसुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ । गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन भएको सो कार्यक्रम अन्तर्गत सुत्केरी गाईभैँसीका मालिकलाई नगद र पोषण सामग्री गरी दुई हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउन थालिएको छ ।
यसमा एक हजार रुपैयाँ नगद र अर्को एक हजार रुपैयाँ बराबरको भिटामिन, मिनरल र पशु आहार प्रदान गरिनेछ । गाउँपालिकाले जारी गरेको कार्यविधि अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित किसानले निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने जनाइएको छ । राप्ती सोनारीलाई पशुपालनकालागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ ।
यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन् । सुत्केरी अवधिमा पर्याप्त पोषण र उचित स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकासमा असर पर्ने र दुध उत्पादन घट्ने समस्या वर्षौंदेखि देखिँदै आएको यसमा सुधार ल्याउन ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गर्दै व्यवस्थित रूपमा कार्यक्रम अघि सारिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
पशु सेवा शाखाका प्रमुख जयबहादुर कार्कीका अनुसार सो कार्यविधिमा दुधालु गाईभैँसीको लैनो अवस्थामा थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने उद्देश्य उल्लेख गरिएको छ । त्यस्तै नवजात बाच्छाबाच्छी तथा पाडापाडीको मृत्युदर घटाउँदै तौल र गुणस्तर कायम राख्ने तथा पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने लक्ष्य पनि राखिएको छ ।
सुत्केरी भएपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील मानिने भएकाले यस अवधिमा किसानलाई पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर सघाउने योजना अघि सारेको गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले बताइन् । उनका अनुसार यस कार्यक्रमको मूल उद्देश्य किसानलाई राहत दिनु मात्र होइन, दुध उत्पादनलाई स्थिर राख्दै पशु स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्नु पनि हो ।
राप्तीसोनारी गाउँपालिका–२ का किसान शान्ता बुढाले यो कार्यक्रमबाट गाई भैंसीको सुत्केरी अवधिमा चाहिने औषधि, भिटामिन र विशेष दाना किन्न सहज हुने जनाउँदै गाउँपालिकाले कृषकलाई सम्झेर यस्तो काम गरेकोमा धन्यवाद व्यक्त गरे । राप्तीसोनारीमा धेरै परिवारको आम्दानीको आधार पशुपालन भएकोले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने उदेश्य र योजना अनुसारनै ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ लाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।
सत्यपाटी