पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार प्रतिलिटर पेट्रोल रु ३ र डिजेल र मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको हो । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग)मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ पुगेको छ भने तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३.५० र डिजेल १३३.५० रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार
सत्यपाटी