२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण माघभित्र सक्ने लक्ष्य

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ३० गते बुधबार

बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ । पाँच करोड ३६ लाख चार हजार ८१५ रुपियाँको लागतमा एम के जुगल जेभीले निर्माण गरिरहेको सो कार्यालय भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत प्रदीप सुनारका अनुसार निर्माण व्यवसायीले भुक्तानी पाएसँगै कामले तीव्रता लिएको हो । ‘अब अधिकांश संरचनात्मक काम सकिएको छ, बाँकी विवरणात्मक काम मात्र हो,’ उनले जनाए । माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढेको जनाउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको बताए ।

उनले भने, ‘समयमै काम सकियोस् भनेर हामीले नियमित अनुगमन र समन्वय गरिरहेका छौँ ।’ गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले यो भवन प्रशासनिक आवश्यकता मात्र नभई नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार पनि भएको बताए । उनले भवन बनेपछि खजुराका नागरिकले आफ्नै सरकारको अनुभूति गर्ने जनाउँदै अब सेवाका लागि भौँतारिनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

गाउँपालिकाका प्राविधिक भूपेश ओझाका अनुसार भवनको फिनिसिङ सम्पन्न भइसकेको छ भने विद्युत् वाइरिङ, पानीको निकास, तथा अन्य प्राविधिक संरचना अन्तिम चरणमा छन् । नयाँ प्रशासनिक भवन निर्माण भइरहेकाले अहिले खजुरा गाउँपालिकाले साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको छ ।

तर नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि गाविसको पुरानो भवनलाई लुम्बिनी प्राविधिक शिक्षा विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत भइरहेको छ । स्थानीय नागरिकका लागि भने यो भवन गर्वको विषय बनेको छ । स्थानीय राजकुमार विकका अनुसार सङ्घीयता आएको धेरै भयो, तर आज यो भवन हेर्दा मात्रै त्यसको अनुभूति भएको छ । अब सेवा लिन आफ्नै घरझैँ लाग्नेछ ।

अर्का स्थानीय रमेश थापाका अनुसार खजुराको प्रशासनिक भवन एउटा संरचना मात्र होइन—यो स्थानीय शासनको अनुहार पनि हो । यहाँबाट प्रवाह हुने सेवा, निर्णय र जवाफदेहिताले सङ्घीयताको सारलाई जीवन्त बनाउनेछ । उनले भने, ‘जब नागरिक आफ्नै गाउँमै आफ्नै सरकारसँग सेवा लिन्छन्, तब सङ्घीयता कागजबाट व्यवहारमा रूपान्तरण हुन्छ । खजुरामा त्यो दिन अब धेरै टाढा छैन ।’

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार