२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाँकेमा सुरु भयो जलपन्छी गणना

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ३० गते बुधबार

बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छी गणना सुरु गरिएको छ । हिजो मङ्गलबारदेखि सुरु गरिएको जलपन्छी गणना आज बुधबार पनि गरिँदैछ । मङ्गलबार बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनिया घाट, तालतलैया तथा जलाशय क्षेत्रमा गणना गरिएको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहानैदेखि नेपालगन्जमा रहेको कान्ति तालमा जलपन्छी गणना सुरु गरिएको छ । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको उनले जानकारी दिए । यस वर्ष नेपालका विभिन्न स्थानमा पुस १९ गतेदेखि जलपन्छीको गणना सुरु गरिएको र माघ ४ गतेसम्म गणना गरिने उनले बताए । पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तथा तालतलैया र सिमसार क्षेत्रको अवस्थासमेतका बारेमा जानकारी लिइने उनले बताए ।

‘नेपालमा जलपन्छीको अवस्था के छ ? कुन कुन प्रजातिका छन् ? सङ्ख्या घटेको छ कि बढेको छ ? चराको अवस्था के छ ? भन्ने बारेमा गणना गर्छौँ, उनीहरुको आहारविहार तथा सिमसार क्षेत्र र तालतलैयाको अवस्था पनि पत्ता लगाउँछौँ, सबै तथ्याङ्क बनाएर सरकारलाई बुझाउँछौँ,’ परियोजना अधिकृत नेपालीले भने । जाडो सिजनमा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चराहरुलाई आहारविहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चराहरु खानाको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गरेको उनको भनाइ छ ।

‘उत्तरी ध्रुवमा हिउँ परेपछि आहारविहारको कमी हुने हुँदा बसाइँसराइ गरेर चराहरु नेपाल आउने गर्छन्, विश्वमा चराका आठ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एसिया मार्ग पर्छ, विभिन्न देशबाट चराहरु यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्दछन्, उनीहरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क सङ्कलन गर्दछौँ,’ नेपालीले भने । नेपालमा ४०० भन्दा बढी चरा स्वयंसेवकहरु गणनामा लागेका उनले बताए ।

नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रहरुमा जलपन्छीको गणना भइरहेको उनको भनाइ छ । उनले चराको अवस्थाका बारेमा अद्यावधिक गरेर सरकारलाई बुझाइने र सरकारले नीति निर्माण गर्दा र कार्ययोजना बनाउँदा टेवा पुग्ने उल्लेख गरे । चरा गणना गर्ने मात्र नभएर समुदायस्तरमा यसका बारेमा सचेतना जगाउने, चरा संरक्षणमा प्रोत्साहन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चरा संरक्षणका बारेमा जानकारीमूलक जनचेतना पनि बढाइने गरिएको उनको भनाइ छ ।

बाँकेको नेपालगन्जस्थित कान्ति तालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने उनले जानकारी दिए । सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, वकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसर लगायत पानीमा आश्रित अन्य जलपन्छीहरु रहेका उनले बताए । बाँकेमा जलपन्छी गणनाका लागि नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत नेपालीसहित सङ्घकै सुरज बस्नेत, इन्द्रजीत परियार, पृथ्वी चौधरी, अमृत नेपाली, फोटोग्राफर विमल प्रधान खटिएका छन् ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार