२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ३० गते बुधबार

सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो–कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो ।

अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ । यो व्यवस्था सम्बन्धी सूचना सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको छ । सूचना अनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गर्नुपर्नेछ ।

आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्यक परिमाणको मूल्याङ्कन गर्नुका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित गर्नुपर्नेछ ।

उद्योग विभागले सम्बन्धित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका मालवस्तु पैठारीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ स्थापना भएका उद्योगले उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) दर्ताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि तथा चालू आर्थिक वर्षमा सञ्चालन र उत्पादन गर्ने लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ ।

त्यसैगरी, विगतदेखि सञ्चालनमा रहेका उद्योगले उद्योग दर्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक पत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र सञ्चालन अवस्था सम्बन्धी विवरण बुझाउनुपर्नेछ ।

पुराना उद्योगले चालू आवको सञ्चालन तथा उत्पादन लक्ष्यको स्वघोषणा, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आवमा कच्चा पदार्थ आयात गरेको भए त्यसको परिमाण, प्रयोगबाट भएको उत्पादन तथा बाँकी रहेको परिमाण सम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार