२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा, फुट्ला की जुट्ला ?

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ । संस्थापन पक्षको तीव्र असहमतिका बाबजुद सुरु भएको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका समसामयिक राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ । मंगलबार भृकुटीमण्डपमा बन्दसत्रबाट प्रतिवेदनहरू पारित भएका हुन् ।

दुवै प्रस्ताव पारित भएसँगै विशेष महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ । नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझैदेखि मनोनयनसमेत सुरु भएको छ । दुई पक्षबीच सहमति नहुँदा कांग्रेस औपचारिक रूपमै फुट सँघारमा पुगेको छ भने पार्टी सभापति शेरबहादुर देउवालाई गलाएर सहमतिमा ल्याउन विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरे पनि सारिरहेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सभापति देउवाको राजनीतिक संन्यास अडान कायम राखेका छन् । विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट मंगलबार दिनभर ठोस निष्कर्ष निस्कन नसक्दा विशेष महाधिवेशनको निष्कर्ष र एकताबद्ध समापनको साझा उपाय निस्कन सकेको छैन । एकातिर कांग्रेस विशेष महाधिवेशन चल्दैगर्दा अर्कोतर्फ पार्टी एकता जोगाउन छलफल जारी छ ।

नेता–कार्यकर्तामा व्याप्त फुट त्रासबीच पार्टी एकढिक्का बनाइराख्न वार्ता समितिसहित नेता छुटाछुटै छलफलमा छन् । कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्मा पक्षबाट गठित वार्ता समितिले दुई चरणमा छलफल गरेको छ । देउवा समूह विशेष महाधिवेशनमा सहभागी छैन । थापा र शर्मा समूहले विशेष महाधिवेशनमा सहभागी हुँदै नेतृत्व चयन चरणमा पुगेको छ । यसबीच नेताहरू मिलनबिन्दु खोजीसमेत पार्टी विभाजनबाट जोगाउने प्रयासमा छन् ।

विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने बटमलाइन’मा सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको हो । त्यस्तै, विशेष महाधिवेशन पक्षधरबाट देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणासहित राजनीतिबाटै ‘संन्यास’ लिनुपर्ने अडान आएको छ ।

देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्ने भन्ने विशेष महाधिवेशन पक्षधरको माग थियो । तर, त्यसमा संस्थापनले सभापतिलाई नसोधी नहुने बताएपछि सहमति हुन नसकेको हो । यद्यपि, कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले संस्थापन पक्ष लचकताका साथ संवादमा रहेको दाबी गरे । वार्तामा विशेष महाधिवेशन पक्ष (गगन–विश्व)बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए ।

त्यस्तै, सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए । प्रचार समितिका संयोजक सुवास पोखरेलले नेतृत्वसँग सहमति नभए बुधबार निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अन्य विषयमा सहमतिनजिक पुगे पनि नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न नसकेको बताए । सहमति भए पनि विशेष अधिवेशनको हलले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार