नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सांसदसम्मको कार्यकाल अवधि किटान गरेको छ । पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
संशोधित विधान अनुसार अबदेखि कांग्रेसमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चार पटक मात्र सांसद बन्न पाइने गरी सीमा तोकिएको छ । त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर पनि एक व्यक्तिका लागि एक पटक मात्र हुने गरी व्यवस्था गरिने उल्लेख छ ।
पार्टीमा प्रवेशको मापदण्ड र नीति भएजस्तै पार्टीका तर्फबाट स्थानीय, प्रदेश र संघीय तहमा राज्यको कुनै जिम्मेवारी वा शासकीय पदको अवधि तोकिएको विधान संशोधनमा उल्लेख छ । एउटै व्यक्ति पटक पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्परा अन्त्य गर्दै पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सीमित व्यक्तिले पटक पटक अवसर पाउने अवस्था रोक्न यस्तो संशोधन गरिएको उल्लेख छ ।
