आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष ३० गते । बुधबार । इस्वी सन् २०२६ जनवरी १४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–एकादशी, २८ घडी ३१ पला, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अनुराधा, ५२ घडी २५ पला, रातको ३ बजेर ५६ मिनेट उप्रान्त ज्येष्ठा ।
योग–गंड, ३५ घडी ४५ पला, बेलुकी ९ बजेर १६ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म रोग बेला ।
- दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर ३३ मिनेटदेखि दिउँसो २ बजेर ५१ मिनेटसम्म चर बेला ।
- दिउँसो २ बजेर ५२ मिनेटदेखि बेलुकी ४ बजेर ९ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर १० मिनेटदेखि बेलुकी ७ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल – दिउँसो १२ बजेर १३ मिनेटदेखि दिउँसो १ बजेर ३१ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त – बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि औषधि जोहो गर्नुपर्ला । यात्रामा अधिक खर्च हुनेछ । अरूको विश्वास गर्दा काम रोकिन सक्छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ । केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला । श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ । समस्या पन्छाउँदै अघि बढ्ने समय छ । अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला । पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा पुग्न सक्छ । परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्चनुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल भइनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । समाजमा आफ्नो प्रभाव कमजोर बन्नेछ । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ । काम बनाउन निकै मिहिनेत गर्नुपर्ला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ । तर, बेसुरको अलमलले काम रोकिन सक्छ । खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ । अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ । अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ । उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश धेरै फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ ।
सत्यपाटी