निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगन्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न हालसम्म भएका तयारी र क्रियाकलापबारे जानकारी गराइएको बताए ।
उनले सोही प्रकारले उक्त बैठकमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गरेको बताए ।
नेपालगन्जको भ्रमणमा रहेकी निर्वाचन आयोगका आयुक्त डा.तुलाधरलाई जिल्ला सुरक्षा समितिको बैठकमा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरिएको सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ तामाङले बताए ।
उनले बैठकमा हालसम्म बाँकेको सुरक्षा व्यवस्था हालसम्म सामान्य रहेको समीक्षा पनि गरिएको बताए । हालसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा बिस्तृत छलफल भएको समितिले जनाएको छ ।
निर्वाचन आयोगका आयुक्त डा.तुलाधरको उपस्थिति र जिल्ला सुरक्षा समितिका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सुरक्षा समितिका सदस्यहरुको सहभागिता थियो । बैठकमा जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीको पनि उपस्थिति थियो ।
सत्यपाटी