नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी २१ फागुनको निर्वाचनका लागि गगनकुमार थापालाई प्रधानमन्त्री बन्ने गरी अघि सार्ने योजना रहेको बताएका छन् । मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले कांग्रेसले नयाँ ऊर्जा र दृष्टिकोणसहित प्रतिस्पर्धा गर्ने जानकारी गराए ।
‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ । नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ । बलियो नेतृत्व लिएर आउँदैछ । राम्रो दृष्टिकोण लिएर आउँदैछ । नेपाली कांग्रेस पार्टी फागुन २१ गते हार्दिक ढंगले लोकतान्त्रिक ढंगले स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ,’ शर्माले भने, ‘र, नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघिल्तिर लिएर आउँदैछौँ ।’
यसैबीच केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्ने समय साढे ६ देखि साढे ७ बजेसम्म कायम गरेको छ । यसअघि दर्ता समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो । विशेष महाधिवेशनको सोमबार सम्पन्न बन्दसत्रले नयाँ केन्द्रीय समिति चयनका लागि कार्यविधि पारित गरेको थियो ।
सोही कार्यविधिअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्रीसहित अन्य सबै पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायका आठ जनाको प्रतिनिधित्व रहनेछ । त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
