आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीबाट नाम फिर्ता लिने क्रम सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा (एमाले)का उम्मेदवारहरू सबैभन्दा बढी संख्यामा नाम फिर्ता लिन आयोग पुगेका छन् ।
पुस १३ र १४ गते आयोगमा बुझाइएको प्रारम्भीक बन्दसूचीबाट एमालेका पाँच जना उम्मेदवारले आफ्नो नाम हटाउन निवेदन दिएका हुन् । नाम फिर्ता लिनेहरूमा खसआर्य समूहबाट ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल रहेका छन् । त्यस्तै, आदिवासी जनजातितर्फ विजयसिंह लामा र हिरुसरा राना तथा मधेशी समूहबाट अंशु सिंहले आफ्नो नाम सूचीबाट फिर्ता लिन निवेदन दर्ता गराएको आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका तर्फबाट पनि दुई जना उम्मेदवारले बन्दसूचीबाट बाहिरिने निर्णय गरेका छन् । कांग्रेसको खस आर्य समूहबाट ध्रुवबहादुर मल्ल र सृजना मल्लले नाम फिर्ताका लागि निवेदन पेस गरेका हुन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट मधेशी समूहका अरविन्द दास र कमलराय यादवले पनि निर्वाचन प्रक्रियाबाट बाहिरिन निवेदन दिएका छन् ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनिता न्हेमाफुकीले पनि बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन आयोगमा निवेदन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बन्दसूचीमा रहेका उम्मेदवारहरूले निर्धारित समयभित्र आफ्नो नाम फिर्ता लिन पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार दलहरूका उम्मेदवारहरूले व्यक्तिगत वा दलीय कारणले नाम फिर्ता लिएको बुझिएको छ ।
सत्यपाटी